गाईघाट ।


सोमबार राति १० बजे उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नबिल बैंकको एटिएम मेशिन फुटाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकका सुरक्षा गाार्डको आँखा छलेर एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा गार्डले थाहा पाएका थिए । त्यसपछि बैंकका मेनेजरलाई उनले खबर गरेका थिए । मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।

एसपी दाहालका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षीय विभेष शर्मा रहेका छन् । उनी बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए ।
प्रहरीले उनको साथबाट एटिएम फुटाउन प्रयोग भएको औजारहरू पनि फेला परेको छ । अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान सुरु गरिएको छ ।












