अम्विका दहाल


राजजिराज आसर २० गते ।
प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले स्थानीय तहका प्रमुखहरुले आफूलाई राजा ठान्ने गरेको र त्यहि किसिमको अनुभुति जनताले गरिरहेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै सभामुख यादवले स्थानीय तहका जनप्रतिनिधिहरु जनमुखी हुनुको साटो पार्टीमुखी हुन पुगेको र आफ्नो मान्छेलाई मात्र बजेट दिने अरुको कुरै नसुन्ने भएको गुनासोसमेत पोखेका छन् ।
सप्तरीका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखसमेत सहभागी रहेको कार्यक्रममा सभामुख यादवले पालिका प्रमुखहरु जनतामुखी नभएको आरोप लगाए । उनले भने, ‘पालिका प्रमुखहरु जनतामुखी छैनन्, पार्टीमुखी भएका छन्, आफनो मान्छेको कुरा मात्र सुन्ने अनि बजेट दिने आफ्नो पार्टी बाहेकका जनताको कुरै नसुन्ने ।’ जनताको प्रतिनिधि बनेर केन्द्र र प्रदेशमा गएका सांसदहरु जिल्लासभामा उपस्थित नहुनु बिडम्बनाको कुरा भएको बताए ।
सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले सप्तरीको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जनताको अपेक्षाअनुसार गएको चार वर्षको अवधिमा काम हुननसकेको आत्मलोचना गर्दे सडक र ढलानको कामलाई नै जनताले विकासको रुपमा हेरीरहेकाले सोही कामलाई स्थानीय तहहरुले प्राथमिकता दिनु परेको बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले २० वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेका र जनताको असिम आकांक्षा रहेका कारण गएको चार वर्षको अवधिमा विगतको २० वर्षको भर्पाई हुन नसकेको स्वीकार गरे ।
सभामा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यलाई निम्ता दिइएको भए पनि कोही उपस्थित भएनन् ।
जिल्लासभामा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने राम्रो काम गरेको भन्दै कर्मचारी नवराज खड्का, कमलेश्वर बिराजी, गंगाराम साहलाई सम्मान गरिएको थियो ।












