२७ मंसिर, राजविराज, ।


सप्तरीको राजविराजमा प्रदेश स्तरीय कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन भएको छ ।
प्रदेश कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन पूर्व उपप्रधानमन्त्री एवम् जनता सामजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक समारोहका बीच संयुक्त रुपमा कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री यादवले ‘अहिले देशभर नै परम्परागत हिसाबले कृषि उत्पादन हुँदै आएको छ, यस्तो उत्पादनबाट कसै–कसैले वर्षभरि नै परिवारको छाक त टार्लान तर यसले समृद्धि चैं ल्याउँदैन’ उनले भने–‘प्रदेशका साथै मुलुकलाई नै समृद्ध पार्न कृषिलाई आधुनिकरणको आवश्यकता छ, यसमा सबैको सहयोग र साथ पनि चाहिन्छ ।’यादवले भने, विकासको पहिलो आधार शिक्षा हो, विद्यालय र क्याम्पसको स्थापनाले मात्रै त्यो सम्भव छ, यसबाट सो उद्देश्य प्राप्त गर्न सकिन्छ ।
प्रदेश २ मा प्रदेश २ मा ९५ प्रतिशतसम्म जनता कृषिमै निर्भर रहेकोले कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक रहेको बताए । यादवले कृषि विश्वविद्यालयको विजारोपणमा मात्र भएको उल्लेख गर्दै विद्यालयको विकासमा सबैको सहयोगको आबश्यकता औलाए । यादवले सप्तरीको विकासलाई अग्रगतिमा बढाउन कुनौली– रुपनी– गाईघाट हुँदै खोटाङसम्मको पहाडी मार्ग जोड्नु जरुरी रहेको बताए । मधेश र पहाडी मार्ग जोड्न सके मात्र देशको चौतर्फी विकास हुन सक्ने उनको भनाई थियो ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकास र समृद्धिका लागि प्राविधिक शिक्षा आजको आबश्यकता रहेको बताए । विश्वविद्यालय स्थापनाले कृषि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गर्दै प्रदेश नम्वर २ का मुख्यमन्त्री राउतले विश्वविद्यालयको स्तरउन्नतिकाका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व उपप्रधानमन्त्रीले उपेन्द्र यादवको साथ र सहयोगमा विश्वविद्यालयको स्थापना गर्न सफलता हाँसिल भएको उनले बताए ।
प्रदेश नम्बर २ सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले विश्वविद्यालय स्थापनाले कृषि क्षेत्रको आमूल परिवर्तनमा योगदान पुग्ने बताए । उनले कृषि विषयमा उच्च शिक्षा हाँसिल गर्न चाह्ने गरिव र विपन्नहरुलाई सहज हुनेमा विश्वास व्यक्त गरे ।
प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री एवम् विश्वविद्यालयका सह–उपकुलपति नवलकिशोर साहको अध्यक्षता आयोजित कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, प्रदेश नम्बर २ का अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश कृषि विश्वविद्यालयका सदस्य मनिष कुमार सुमन, राजविराज नगरपालिकाका प्रमुख तथा विश्वविद्यालयका सदस्य शम्भु प्रसाद यादवलगायतकाले मनतब्य व्यक्त गरे ।
आजै प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको रुपनी गाउँपालिका–४ स्थित भथौलमा सोमबार शिव शनि मन्दिरको शिलान्यास गरेका थियो ।












