१ पुष, काठमाडौं ।


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार थिए । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य थिए ।
उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएका छन । सभापति देउवा ‘प्यानल’ कै उहाँले एक हजार ९०६ मत प्राप्त गरेका छा । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन ।
यसै गरी महामन्त्री पदको मतगणना हुँदैछ । बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । सभापति शेरबहादुर देउवा समूहबाट डा। प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा। शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन् ।
त्यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा। राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् । यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ ।












