अम्बिका दहाल


१३ माघ राजविराज ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भएकोमा गर्व लागेको बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघको पदस्थापना तथा सपथग्रहण समारोहमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले पहिचानको आधारमा नामकरण गर्ने मधेश प्रदेश नै पहिलो भएको दावी गरेका हनु । अब ढिलो चाँडो संविधानले दिएको अधिकार प्रदेशवासीले पाउने पनि मुख्यमन्त्री राउतले बताए ।
हिजोसम्म हामीलाई जुनसुकै व्यवहार गरेपनि आउने दिनमा यो अधिकार पनि लिन्छौं उनले भने जनसङ्ख्याका आधारमा मधेश प्रदेश पहिलो रहेको भन्दै मुख्यमन्त्री राउतले अरु विषयमा पनि प्रदेशलाई एक नम्बर बनाउने दावी गरे । मुलुकमै जनसङ्ख्यामा १ नम्बर भइसकेका छौं उनले भने, अब उद्योगधन्दा सञ्चालन गरेर, कृषिको उत्पादकत्व बढाएर उद्योगी, व्यवसायी, कृषकको चाहना पूरा गरेर यो प्रदेशलाई मुलुककै एक नम्बर प्रदेश बनाउँछौं । विकासको मामिलामा, शान्ति सुरक्षा र समृद्धिको मामिलामा यो प्रदेश नै १ नम्बर रहनेछ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको छ । दोस्रो धेरै बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ रहेको छ ।
मुख्यमन्त्री राउतले निजी क्षेत्रको चाहना अनुसार नीति तथा कार्यक्रमहरू नआएसम्म समृद्धि नआउने भन्दै संघीय सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए । प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेको ३ ४ दिनभित्रै नियमावली ल्याएर कार्यान्वयनमा जाने उनले जानकारी दिए । उनले उद्योग सञ्चालन गर्न लिजमा जग्गा उपलब्ध गराउने, विद्युतमा अनुदान दिने र उद्योगलाई सुरक्षा दिने जस्ता विषय ऐनमा राखिएको बताए ।
सार्वजनिक जग्गा कसैलाई दिनुपर्दा संघीय सरकारको भूमि व्यवस्था मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था अवैज्ञानिक रहेको पनि मुख्यमन्त्री राउतले बताए । अहिले पनि जग्गा सङ्घभित्र राख्नुपर्ने मानसिकता छ । त्यसका कारण पनि जरा प्राप्ति गर्न सकेका छैनौ उनले भने, तथापि विश्वास छ । मुलुक सङ्घीयतामा आइसकेपछि प्रदेशले संविधान अनुसार पाउने अधिकार पाउँछ ।
क्रिममा मधेस प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले किसानका मलखाद, सिँचाइ लगायतको समस्याबारे मधेश सरकार गम्भीर रुपमा लिएको बताए ।
अर्थ मन्त्री साहले भने रासायनिक मलको अभाव पूर्ति गर्न आगामी दिनमा प्रदेश सरकारले अर्गानिक मलमा किसानलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा दिने उनले बताए ।
किसानले उत्पादन गरेको खाद्ययान सामग्री बजारको उचित मूल्य नपाएर पनि किसान निरास भएको भन्दै आगामी दिनमा किसानको समस्यालाई मधेस सरकारले गम्भीर रुपमा लिएर अगाडि बढ्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादब, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गजेन्द्र मगर, उद्योग वाणिज्य संघ सप्तरी पुर्व अध्यक्ष मनोज मुधडा,नागरिक समाजका संयोजक थानसिंह भन्साली लगायतले सम्बोध गरेका थिए ।
निवर्तमान अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तृष्णा मल्ल र स्वागत निर्वतमान महासचिव अनन्तलाल साहले गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई निवर्तमान अध्यक्ष अरुण कुमार प्रधानले पद तथा गोपनियताको सपथ गराएका थिए ।












