२१ माघ, इनरुवा ।


सुनसरीको कोशी गाउँपालिका –१ लोैकहीको खुनिया पुल नजिकै सडक खण्डमा राति बस र ट्रक एक आपसमा ठोक्किँदा चालक सहित तीन जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आँउदै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा भयानक दुर्घटना भएको हो ।

ट्रक र बसबीच ठक्कर खाँदा गाडीमा आगलागी भएको छ । आगलागीबाट ट्रक र बस जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृतकहरू बसका चालक पाँचथरका सुरेन राई र एक जना पुरुष यात्रु छन् । त्यस्तै, ट्रकका चालकको अझैसम्म पहिचान खुल्न सकेको छैन् । मृतकहरूको शव आगोले जलेको छ भने दुर्घटनामा बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।












