२७ माघ जनकपुरधाम ।


धनुषामा बच्चा अपहरणको अभियोगमा पक्राउ परेका तीन जना व्यक्ति जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सार्वजनिक गरेको छ ।
धनुषास्थित चारनाथ नगरपालिका १० बस्ने संजित मुखियाकी अन्दाजी ३५ वर्षकी श्रीमती मनिषा देवी मुखिया, सोही जिल्लाको औरही गाउँपालिका १ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ स्थित डेरागरी बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरी जिल्लास्थित लोहरपट्टी नगरपालिका ४ घर भएका हाल जउमनपा ७ स्थित डेरा गरी बस्ने रामजी यादवका २२ वर्षीय छोरा कृष्णकुमार यादवलाई धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी विहीबार सार्वजनिक गरेको हो ।

माघ २६ गते बुधबार जउमनपा ६ स्थित मोहम्मद आमिर राईनकी ६ वर्षीया छोरी एलिजा खातुनले खेलाउँदै गरेको अवस्थामा ७ महिने उनका भाइ मोहम्मद अख्तर राईनलाई अपहरण गरी लैजाने क्रममा स्थनीयको सहयोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउपछि बच्चालाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।












