अम्बिका दहाल


१५ फाल्गुन राजविराज ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले जिल्लाका १८ वटै पालिकाका मतदाताका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थाल्ने भएको छ ।

स्थानीय निर्वाचनको तयारी अन्तर्गत जिल्ला निर्वाचन कार्यालयले आइतबार राजविराजमा मतदाता नामावली अद्यावधिक कार्यक्रममा २०८९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी सबै पालिकाहरूमा मतदाताहरूका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थाल्ने जनाएको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले यही फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटिहरूलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १३, १४, १५, १६ र १८ बमोजिम मतदाताहरूले निवेदन दर्ता गराउन सकिने जानकारी गराए ।
मतदाता नामावलीमा केही त्रुटि भए, झुटो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताहरूले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए ।
उनले दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको बताए । मतदाता नामावलीमा कुनै त्रुटि सच्याउनका लागि मतदाताहरूले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरूले आफ्नो मतदाता नामवाली बाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरी ४ दिनसम्म निवेदन दर्ता गराउन सकिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षता आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादव, एसपी अविनारायण काफ्ले लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।












