३० फाल्गुन, कञ्चनरूप ।


एम.डि हेल्थ केयर हस्पिटल प्रालिको आयोजनामा सोमवार सप्तरीको कञ्चनरूप वडा नं १२ निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ८ सय ३४ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका संयोजक तथा एम.डि हेल्थ केयर हस्पिटल प्रालिका मो.जाकिर शेखले जानकारी गराएका छन् । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत २५ जनाको विशेषज्ञ चिकित्सकहरूले हाडजोर्नी, नसा, बाल रोग, आँखा जेनेरल मेडिसिन, स्त्री रोग, छाती रोग लगायत ११ किसिमका सेवा उपलब्ध गराएका थिए ।
नोबेल मेडिकल कलेज विराटनगर सँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा नोबेल मेडिकल कलेजको तर्फबाट भिडियो एक्सरे र इ सी जी निशुल्क गरिएको थियो भने एम.डि हेल्थ केयर हस्पिटलको तर्फबाट ल्याब सेवा डिजिटल एक्सरेमा २५ प्रतिशत छुट दिएको थियो ।

स्वास्थ्य शिविर बिहान ८ बजे देखी साझा ५ बजे सम्म सञ्चालन भएको थियो । नोबेल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूलाई विराटनगर देखी कञ्चनरूप सम्म आइ सेवा प्रदान गरेकोमा एम.डि हेल्थ केयर हस्पिटलको तर्फ बाट खादा तथा मायाको चिना प्रदान गरि सम्मान गरिएको थियो ।












