२५ चैत्र, राजविराज ।


मधेश प्रदेशका समाजिक विकास मन्त्री नबल किशोर साहले सप्तरीको राजविराजमा टाइफाइड रोग विरुद्ध खोप अभियानको शुभारम्भ गरेका छन् ।
राजविराजस्थित के अ माध्यमिक विद्यालयमा शुक्रवार आयोजना गरिएको कार्यक्रमको अभियान शुभारम्भ गर्दै मन्त्री साहले खोप शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा सप्तरी , स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनिया लाल यादवले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई १ लाख ८० हजार १४७ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको बताए । यादवले टाईफाइडको संक्रमण खतरा सबै उमेर समूहमा रहने गरे पनि १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण हुनसक्ने सम्भावना रहेकोले सोही उमेरसमूहका लक्षित समूह रहेको बताए ।
जिल्ला खोप समन्वय समितिका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरण अन्तर्गत चैत्र २६ गते देखि ३० सम्म डाक्नेश्वरी, शम्भुनाथ, बोदेबरसाइन, सुरुङ्गा र खडक नगरपालिका र राजगढ, छिन्नमस्ता, विष्णुपुर र वलान विहुल गाउँपालिकामा खोप लगाइने छ । त्यस्तै, दोश्रो चरणमा वैशाख ४ गतेदेखि ८ गतेसम्म कञ्चनरूप, राजविराज, हनुमाननगर, सप्तकोसी नगरपालिका र अग्निसाइर कृष्णासवरन, तिरहुत, तिलाठी कोइलाडी, महादेवा र रुपनी गाउँपालिकामा खोप लगाइने छ ।
खोप लगाउनका लागि जिल्लाका १८ वटै स्थानीय तहमा तालिम प्राप्त १८ जना स्वास्थ्य शाखा प्रमुख, १ सय ५९ जना स्वास्थ्य संस्था प्रमुख, २ सय ९१ जना खोपकर्मी, १ हजार ७८ जना स्वंयसेविका र १ हजार १ सय २५ जना शिक्षिका स्वंयसेविका गरी कुल २ हजार ६ सय ७१ जनशक्ति परिचालन गरिने छ ।












