१३ , बैशाख कञ्चनरूप ।


सप्तरीका आधा दर्जन पत्रकारहरूले विभिन्न पालिकामा छुट्टा छुटै पदमा मनोनयन दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागी सप्तरीका भोला पासवान, हेमशंकर सिंह, चन्दनकुमार यादव , सतिशकुमार दत्त ,कमलकुमार मण्डल र बिवेकानन्द यादवले पत्रकारितालाई दाउमा राखेर विभिन्न पार्टीबाट चुनावी मैदानमा ओर्लिएका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको तर्फबाट जिल्लाको कञ्चनरूप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । दलित अगुवाको रुपमा परिचित उनी दुई दशक देखी पत्रकारिता क्षेत्र तथा समाजसेवातर्फ अग्रसर रहेका पासवान एक बर्ष अधिमात्र नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव निर्वाचित भएका थिए ।

यस्तै अर्का पत्रकार हेमशंकर सिंह कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीबाट मनोनयन दर्ता गराएका छन । सिंह राजविराजबाट प्रकाशित मधेश क्रान्ति साप्ताहिकका सम्पादक तथा राष्ट्रिय स्तरको घटना र विचार साप्ताहिक पत्रिकाको सप्तरी समाचारदातासमेत हुन । अढाई दशक देखी पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
यसैगरी पत्रकार सतिशकुमार दत्तले राजविराज वडा नम्बर ८ को अध्यक्ष पदको लगी नेकपा एकिकृत समाजवादीको तर्फबाट दत्तले मनोनयन पत्र दर्ता गराएका हुन् । दत्त राजविराजबाट मैथिली भाषामा प्रकाशित मिथिला साप्ताहिकका सहसम्पादक हुन् । अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
यस्तै नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सहसचिव समेत रहेका चन्दनकुमार यादवले पनि राजविराज नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फ बाट मनोनयन पत्र दर्ता गराएका छन् । यादव सप्तरी टाइम्सका सम्पादक हुन् भने डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
यता, कमलकुमार मण्डलले स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन । राजविराजस्थित भोरुकवा एफएमका समाचार वाचक तथा मधेश लाइभ डटकम अनलाइनका संवाददाता हुन । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमा मण्डलले जनमत पार्टीबाट मनोनयन दर्ता पत्र दर्ता गराएका हुन् ।
त्यस्तै, पत्रकारको रुपमा गत वर्ष देखी सप्तरीमा पहिचान खोज्दै आएका अर्का पत्रकार बिवेकानन्द यादव (निखिल राउत) सप्तरीको रुपनी बाट सञ्चालन हुँदै आएको अनलाइन केछ खबरका सञ्चालक तथा एरिना टेलिभिजनका सप्तरी समाचारदाता हुन । उनले रुपनी गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन । २ वर्ष सप्तरीमा पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
नेपाल पत्रकार महासङ्घले संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने भन्ने भनी यस अधि नै अवगत गराई सकेको छ ।












