असार १३, काठमाडौं,


नेकपा ( एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले अब सिंगो पार्टी पङ्क्तिको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै नेपालले आगामी प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै १६५ क्षेत्रमा नै उम्मेदवारको तयारी गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले चुनावमा अधिकतम सफलता हासिल गर्ने गरी वातावरण बनाउनुपर्ने भन्दै प्रत्येक कार्यकर्ता जनताको घर दैलोमा पुग्नुपर्ने उहाँको भनाई थियो ।
नेपालले भने, ‘हामीले १६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ । पालिका पालिका, वडा वडामा बुथ बुथमा टोलटोलमा कमिटी बनाउनुपर्छ, कार्यकर्ता खटाउनुपर्छ ।
स्थानीय चुनावमा आफूहरूले २७ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख बढी मत प्राप्त गर्न सफल भएको भन्दै‘ सबै ठाउँमा उम्मेदवार उठाएको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्ने थियौं । २० लाख भोट सजिलै आउने थियो,’ उहाँले भन्नुभयो ‘यदि प्रतिनिधिसभा र प्रदेशसभामा २० लाख भोट ल्यायौं भने केही सिट सुरक्षित गर्न सक्नेछौ ।
‘प्रत्येक कार्यकर्ता जनताको घरघरमा गएर कलम चिन्हको प्रचार गर्नुस्,’ नेपालले भन्नुभयो । स्थानीय चुनावमा अत्यधिक भोट बदर भएर आफूहरूले धेरै ठाउँमा हारेको उनले बताए । काठमाडौं महानगरमै ५० हजार भन्दा बढी भोट बदर हुँदा आफ्नो पार्टीका उपमेयर उम्मेदवारले पराजय भोग्नुपरेको उनको दाबी थियो । उनले मतदातालाई राम्ररी प्रशिक्षित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।












