Logo

चुनाव लड्न कुनै गठबन्धनको बैसाखीको सहारा नचाहिने : उपेन्द्र यादव

                     
Logo १२ भाद्र २०७९, आईतवार ०४:५९    

राजविराज ।

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले  आफूहरूका लागि चुनाव लड्न कुनै गठबन्धनको बैसाखीको सहारा नचाहिने बताएका छन ।

शनिवार राजविराजमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीयता, गणतन्त्र, समावेशिता रक्षाका लागि सहकार्य गरेर जान तयार छौं तर गठबन्धनका नाममा बेइमानी र अन्याय भए जसपा एक्लै झण्डा उठाएर चुनाव लड्न तयार छ, चुनाव लड्न जसपालाई कसैको बैसाखीको जरुरी छैन ।’

यादवले नागरिकता संशोधन विधेयकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका पार्टी नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा पास हुने र मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न ल्याइएको नागरिकता विधेयक केही समयभित्रै फिर्ता हुनुले एमालेले लिएको नीति स्पष्ट भएको दावी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाउन लगाएको भन्दै अध्यक्ष यादवले केही दिन सरकारमा जान मात्र पार्टी फुटाएको आरोप लगाए ।

यादवले भने, ‘केपी ओलीलाई मजबुत बनाउनका लागि र अलिकती प्रसादी चाट्नका लागि मात्रै पार्टी फोडिएको हो ।’

कार्यक्रममा जसपाका कार्यकारिणी समिति सदस्य तथा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, प्रवक्ता मनिषकुमार सुमन, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायण यादव, संविधानसभा सदस्य रन्जु ठाकुर र प्रदेश सासंद विन्देश्वरप्रसाद यादव बिक्की लगायत वक्ताहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको निवर्तमान प्रमुख प्रभाकर यादवसहितका नेता कार्यकर्ताहरू जसपामा प्रवेश गरेका थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?