राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालय परिसर भित्रे जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई इन्स्पेक्टर नवीन थापा मगरले कुटपिट गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शनमा उर्तिएका छन ।


अध्यक्ष यादव जिल्लाकै महदेवा गाउँपालिकाको एक मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपिट गर्दा निधार फुटे पछि जसपाका कार्यकर्ताहरू जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन उर्तिका हुन। मुद्दामा छलफल चलिरहँदा प्रहरी निरीक्षक नवीन थापामगर सँग अध्यक्ष यादवको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए । यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाएका छन् ।
यादवको टाउकोमा चोट लागेको छ भने उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । नेता यादवमाथि कुटपिट भएपछि आक्रोशित बनेका अ नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनावग्रस्त बनेको छ ।

उनीहरूले प्रहरी निरीक्षक थापालाई कारबाही हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए । हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताए ।












