२५, जेठ कञ्चनरूप । केही दिनयता लगातार बढ्दै गएको तापक्रमले गर्दा सप्तरीको जनजीवन प्रभावित बन्दै जान थालेको छ । बिहानैदेखि टन्टलापुर घाम लाग्दा सहनै नसक्ने गर्मीको कारण सप्तरी सहित मधेशका जिल्ला लगायत तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ ।


दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूलाई त झनै समस्या हुन थालेको छ । दिनभरी काममा खट्दा तातो घामले शरीर थेग्नै नसक्ने स्थिति भएको छ ।
तराई तथा मधेशका जिल्लाहरूमा अधिकतम तापक्रम दिनहुँ जस्तो ४१ डिग्री सेल्सियस भन्दा बढी पुग्ने गरेको छ ।

जिल्ला सदरमुकाम राजविराज सहितका अन्य बजारहरू हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी ,कल्याणपुर , पातो वोदेबर्साइन लगायतका ठाउँहरूमा केही दिन यस्तै अवस्था रहिरहने हो चर्को घाम र तातो हावाको ओहोर दोहोरले लु चल्न सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यता गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहका अनुसार गर्मीका कारण बिरामीको चाप बढ्नुको साथै दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडाबान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको बताएका छन । डा। साहले गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए ।
गर्मी कै कारण जिल्लाका विभिन्न स्थानीय तहहरूले गर्मीको कारण विद्यालय केही दिनका लागि बिदा भए पनि बालबालिकाको पढाईमा असर पर्ने भन्दै बिहानी कक्षा सञ्चालन गरेका छन ।
दिउँसोको समयमा घाममा नहिँड्न र हिँड्नै परे छाता प्रयोग गर्ने, प्रशस्त झोल पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन । धेरैजसो मध्यान्हमा हिँडडुल गर्न छाडिसकेका छन् । अत्यावश्यक उपभोग्य सामान खरिद गर्नेहरू बिहान बेलुकामात्रै निस्कने गरेका छन् । सार्वजनिक यातायातमा पनि गर्मीका कारण उकुसमुकुस हुने गरेको छ । प्रायजसो सवारी साधन र मानिसको चहलपहलले हुने ठाउँहरूमा चहलपहल कम हुन थालेको छ । बाहिरिएका मानिस चिसो पदार्थ खाएर दिन काट्ने गरेका छन् ।












