२१ असार, राजविराज । नागरिकता सम्बन्धि कसूरमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई ३ दिन थुनामा राख्न म्याद थप गरिएको छ ।


सप्तरी जिल्ला अदालतले बिहिवार यादवलाई ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
यादव एमाले पूर्व सांसद सरिता गिरीसहित नेकपा एमालेका जिल्लास्तरीय नेताहरू लिएर प्रहरी कार्यालय पुग्ना साथ पक्राउ परेकी थिइन । सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव भने अझैं फरार छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गरेको ८ महिना वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढेको बन्दै सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
गत साउनको दोस्रो साता कृष्णले जिल्ला प्रशासन कार्यालयमा गरेको उजुरीअनुसार उपमेयर मीरा र उहाँका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी हुन् ।
विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं।५१ अनुसार श्रीमान् श्रीमति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।












