Logo

सूचना दिवसको अवसरमा सिरहामा विभिन्न कार्यक्रम

                     
Logo ४ भाद्र २०८०, सोमबार १६:२०    

निर्मला दाहाल 

सिरहा, ४ भदौ । सिरहामा विभिन्न कार्यक्रम गरी १७ औं राष्ट्रिय सूचना दिवस मनाइएको छ ।

सिरहा पुस्तकालयको आयोजनामा सूचना मागौं, भ्रष्टाचार अन्त गरौँ नारा सहित प्रभात फेरी र समुदाय जागरण अभियान अन्तर्गत सरोकारवालाको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सहिद राजेश ठाकुर पार्कदेखि निस्केको  प्रभातफेरी सिरहा बजारको परिक्रमा गरी सिरहा पुस्तकालयमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।

मधेश प्रदेशका पूर्वराज्यमन्त्री सञ्जय कुमार यादवले सरोकारवाला निकायहरूले नागरिकलाई सूचनामा पहुँच बढाउने गरी स्वतः प्रकाशित गर्नुपर्ने बताएका छन् । सूचनाको आवश्यकता व्यक्तिको जीवनमा महत्वपूर्ण भएकोले सूचना लुकाउने काम रोक्दै सर्वसुलभ रुपमा सूचना पाउने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे । संविधानमै सुनिश्चितता नागरिकको सूचना पाउने हकको पूर्ण कार्यान्वयनमा पूर्वराज्यमन्त्री यादवले जोड दिए ।

सार्वजनिक निकाय, निजी संस्था लगायतले नागरिकलाई सूचनाको हक उपभोग गर्ने विषयमा कुनै बाधा अडचन खडा गर्न नहुने मधेश प्रदेश सभाका सांसद जिवछी कुमारी यादवले बताएकी छिन् । सूचनाको हक प्रयोग गर्दा दुरुपयोग गर्ने विषयमा सजग हुनुपर्ने सांसद यादवले बताएकी छिन् ।

सूचनाको हक व्यवहारमा राम्रोसँग लागू भयो भने धेरै पक्षलाई काम गर्न सहज हुने स्काउट नेपालका प्रदेश संयोजक दिनेश कुमार यादवले बताए । सूचनाको हकलाई व्यवहारमा लागू गराउन सिरहा पुस्तकालयलाई सूचना केन्द्रको रूपमा विकसित गर्न उनले सुझाव दिए । 

जिल्ला स्तरमा सार्वजनिक निकायलाई निगरानी गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीको हुने भएकोले सूचनाको हक व्यवहारमा लागू भए नभएको कुरालाई समेत विशेष निगरानी बढाइदिन सप्रजिअसंग उनले आग्रह गरे ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सूचना नदिदा पुनरावेदन गर्नुपर्ने अवस्था जिल्लामा देखिएको बताए । मौलिक हकमा नै सूचनाको हक रहेको भन्दै सहायक प्रजिअ पौडेलले सहज रुपमा सूचना दिई कारबाहीबाट बच्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । जिल्लामा सूचना माग्दा नदिने गरेको गुनासो जिल्ला प्रशासनमा पनि आएको र त्यसमा छानबिन भइरहेको भन्दै उनले सूचना नदिने सरोकारवालालाई कारबाही समेत भएकोतर्फ ध्यानाकर्षित गराए ।

सूचनाको हक सम्बन्धी अभियानमा लागेका दुईजनालाई सम्मान गरिएको छ । सूचनाको अभियान सफल बनाउन लामो समयदेखि लागेका पत्रकार बद्रीनारायण यादव र सूचना अभियन्ता परशुराम साहलाई खाद्या ओढाएर सम्मान गरेको हो । सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सूचनाको हक सम्बन्धीको कार्यपत्र सूचना अभियन्ता साहले प्रस्तुत गरेका थिए ।

२०६४ साल साउन ५ गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गते देखी लागू भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बु, नागरिक अगुवा चन्देश्वर प्रसाद यादव, सञ्चारकर्मी बैधनाथ यादव लगायतले सूचनाको हक सम्बन्धी आफ्नो विचार व्यक्त गरे  ।


लोकप्रिय छुटाउनुभयो कि ?