जलेश्वर । उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।


मिटरब्याज पीडितहरूले मङ्गलबार दिउँसो निकालेको विरोध जुलुस प्रर्दशन गर्ने क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्व्यवहार गरी कुटपिट गरेको भन्दै बुधबार बिहानैदेखि निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यापारीहरू आन्दोलन उत्रेका छन्
मिटरब्याज पीडितले एक जना स्थानीय व्यवसायीलाई कुटपिट गरेको थियो भने अर्का एक जना व्यवसायीलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मिटरब्याज पीडितहरूले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै मङ्गलबार जलेश्वरमा प्रदर्शन गर्नुका साथै पाँच बुँदे माग उल्लेखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाएका थिए ।
मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला आन्दोलनकारीले व्यवसायीलाई कुटपिट गरेको भन्दै व्यापारीहरू प्रतिकार गर्दै सडकमा उत्रेका छन् ।
मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरूलाई कारवाही नभएसम्म बजार बन्द यथावत राख्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लभ राजा सिंहले जानकारी दिए ।
“प्रदर्शन गर्ने बहानामा स्थानीय व्यवसायीलाई दुर्व्यववहार गर्नु र कुटपिट गर्नु गलत हो ।” सङ्घका अध्यक्ष सिंहले भन्नुभयो “आफ्नो मागका लागि प्रदर्शन गर्ने बहानामा स्थानीय व्यावसायीलाई कुटपिट र दुर्व्यवहार गर्नेलाई कारवाही हुनुपर्छ । दोषीलाई कारवाही नगरुन्जेल बजार बन्द रहनेछ ।”
जलेश्वर बजार बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यता व्यवसायीहरूले चौकचौकमा नारावाजी गरेर दोषीलाई कारवाहीको माग गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले कुनै अप्रिय घटना हुन नदिन सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मी परिचालन गरेका छन् । यता मिटरब्याज पीडितले आन्दोलन बिथोल्न आफूहरूमाथि यस्तो आरोप लगाएको बताएका छन् ।
गोरखापत्र अनलाइनबाट












