Logo

हिरासतमा रहेकी महिला बलात्कार विषयमा छानबिन गरी दर्ता गर्न मधेस प्रहरीको निर्देशन

                     
Logo ८ भाद्र २०८०, शुक्रबार १७:२६    

कञ्चनरूप । सप्तरी थुनुवामा रहेका बेला सप्तरी स्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले बलात्कार गरेको भनी महिलाले दिएको उजुरीबारे सत्यतथ्य छानबिन गरी दर्ता गर्न मधेस प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले मिडियाहरूमा समाचार आएपछि त्यसबारे बुझेर निर्देशन दिएको बताए ।

‘यसबारे समाचारमा आएपछि हामीले जानकारी पायौँ, त्यसैले सत्य तथ्य बुझेर उजुरी दर्ताका लागि निर्देशन भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीलाई निर्देशन भइसकेको छ’, श्रेष्ठले भने।

पीडित भनिएकी महिला पूर्वपक्षका लागि कारागारमा छिन्। गत वर्षको कात्तिकमा उनलाई करेन्ट लगाएर पतिको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतले उनलाई पूर्वपक्षका लागि कारागार चलान गरेको थियो ।

पीडित भनिएकी महिलाले त्यसबेला त्रासका कारण बलात्कारको विषयमा बोल्न नसकेको र अहिले न्यायका लागि अपिल गरेको बताएकी छन् ।

शुक्रबार आएका समाचारहरूमा भने पेट दुखेपछि पीडित भनिएकी महिला १२ वैशाखमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेका बेला रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएको लेखेको उल्लेख छ ।

महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी नै दिएको पनि विवरणमा उल्लेख छन् ।

उजुरीमा महिलाले चैत ६ गते राति नाम थाहा नभएको प्रहरीले सोधपुछ गर्न हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखकहाँ लगेको र मादक पदार्थ सेवन गरेर बसेका प्रमुखले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन्। ‘सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात् यो कुरो कसैलाई कतै भनेमा २० वर्षसम्म जेलमा सडाइ दिने’ भनेर डर, धाक, धम्की दिएको उजुरीमा उल्लेख भएको विवरण सार्वजनिक भएका छन् ।

पतिको हत्या आरोपमा उनी चैत ४ गते पक्राउ परेकी हुन्। उनका पतिको कात्तिक ६ गते मृत्यु भएपछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेपछि महिलाले मंसिर ७ गते एउटा इन्स्युरेन्स कम्पनीबाट बिमा रकम प्राप्त गरेकी थिइन्। सोही प्रहरी कार्यालयले करेन्ट लागि भवितव्य मृत्यु भएको भनेर दिएको कागजातका आधारमा अर्को इन्स्युरेन्स कम्पनीमा रकम दाबी गरेपछि करेन्ट लगाएर मारेको भनी मुद्दा चलाइएको पनि उनको गुनासो छ।जिल्ला अदालत सप्तरीबाट भएको आदेशविरुद्ध महिलाले उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन गरेकी छिन्।  


लोकप्रिय छुटाउनुभयो कि ?