Logo

समतामूलक समाज, सामाजिक न्याय र वैज्ञानिक समाजवाद अहिलेको आवश्यकता :अध्यक्ष नेपाल

                     
Logo २८ भाद्र २०८०, बिहीबार २२:०७    

कञ्चनरूप । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी अब सुध्रिने अवस्थामा नरहेकोले तथा कम्युनिष्ट विचारकहरूको पार्टी नभएको बताएका छन ।

अध्यक्ष नेपालले सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुइया बजारमा बिहीबार पार्टीको नगर समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

एमाले कम्युनिष्ट विचारकहरूको पार्टी नभएकोले इमानदार कार्यकर्ताहरू छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेकोले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आग्रह गरेका थिए ।

अध्यक्ष नेपालले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दाबीका साथ सरकार विरोधी कुनै पनि भ्रमका पछाडि लाग्न आवश्यक नरहेको बताए  । 

समतामूलक समाज, सामाजिक न्याय र वैज्ञानिक समाजवाद अहिलेको आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष नेपालले देश विकास र सुशासन कायम गर्न समाजवादी सिद्धान्त मुख्य आधार रहेको उल्लेख गरे ।

समाजवादी पार्टीमा प्रवेश गर्ने लहर चलेको बताउँदै अध्यक्ष नेपालले पार्टीमा योग्यता र क्षमताको आधारमा जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो सरकार निर्माण भएकोले पाँच वर्षसम्म टिक्ने कुरामा कुनै शंका नलिन सबैमा आग्रह समेत गरे । नेता नेपालले सबै वर्ग समुदायका पक्षमा सरकारले काम गर्न आवश्यक रहेको बताउँदै विशेष गरी विपन्न, दलित, महिला, आदिवासी जनजातिका समस्या समाधानमा सरकारले बढी ध्यान दिनु पर्नेमा जोड दिए ।

मुलुकमा समाजवादी अभियानको आवश्यकता रहेको बताउँदै उनले त्यसकै लागि समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पनि पारे । आगामी असोज १४ गतेबाट मेची महाकाली समाजवादी अभियान चलाइने उद्घोषका साथ नेता नेपालले जनजनमा यसको औचित्य र आवश्यकता स्थापित गर्न आवश्यक रहेको बताए ।

पार्टीका स्थायी समिति सदस्य रामपृत पासवानले लामो समय संघर्ष गरि जनवादी क्रान्ति पूरा गरि समाजिक र आर्थिक क्रान्तिका लागि एकीकृत समाजवादी पार्टी स्थापना भएको बताउदैन उनले देश र जनताको भलो चाहनेहरू बिस्तारै समाजवादी पार्टीमा गोलबद्व हुने विश्वास व्यक्त गरे ।

एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले आफूलाई समाजवादी मन्त्रीका रुपमा चिनाउने गरि काम  गर्ने बताए । उनले अन्तरबाली कार्यक्रम मार्फत साना किसानको आर्थिक स्तर बढाउन सहयोग पुग्ने जिकिर गर्दै गरिव , विपन्न तथा किसानलाई प्रत्यक्ष फाइदा लिने गरि आफ्नो मन्त्रालयबाट नीति तथा कार्यक्रम अगाडि सारेको बताए ।

नयाँ नीति एजेन्डा र नयाँ सोचका साथ समाजवादी पार्टी स्थापना गरिएकोले उत्पीडित र विभेदमा पारिएको जातिसमुदायलाई पार्टीमा आबद्ध हुन आग्रह गरे ।

नगर समितिका अध्यक्ष बिजयकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिव नागेन्द्र प्रसाद चौधरी, स्थायी कमिटी सदस्य रामप्रित पासवान, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने लगायत प्रदेश स्तरीय नेता तथा जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।  नेकपा एमालेका जिल्ला सदस्य एयुव राइन, बलराम चौधरी, लोसपाका ननु चौधरी कलवार, कांग्रेसका हासिम मियाँ सहित हजारौं नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?