राजविराज । अलपत्र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुचारु हुनुपर्ने माग गर्दै आन्दोलित युवाहरूले बुधवारदेखि सात दिने हस्ताक्षर अभियान थालेका छन् ।


पहिलो चरणको आन्दोलन गरि विभिन्न कार्यक्रम गर्दा पनि माग सम्बोधन नभए पछि सप्तरी युथ नेपालको अगुवाइमा सात दिने हस्ताक्षर अभियान थालेका हुन ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत सात दिने हस्ताक्षर अभियान थालिएको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए । ‘यसअघि हामीले पहिलो चरणमा प्रधानमन्त्रीका लागि ज्ञापनपत्र देखि जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्नाका कार्यक्रम गर्दा समेत माग भने सुनवाई हुन सकेको छैन्’ उनले भने, ‘त्यसपछि हामीले दोश्रो चरणमा सात दिने हस्ताक्षर अभियान सुरु गरेका छौं, राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेर अभियानको शुभारम्भ गरेका थिए ।’

हस्ताक्षर अभियान अन्तर्गत बुधवार दिउँसोसम्म मात्रै हजारभन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भइसकेको उनले बताए । ‘प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्नेछ’ उनले भने, ‘त्यसैले हाम्रो हस्ताक्षर अभियानमा सर्वसाधारणदेखि समाजसेवी, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वतस्फुर्त रुपमा सघाइरहेका छन् ।’
उनका अनुसार सात दिनमा १० हजार हस्ताक्षर संकलन गरिनेछ भने त्यसपछि ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइनेछ । उनीहरूले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीका लागि ज्ञापनपत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेका थिए ।
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौल स्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डीपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।
गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा। रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।
पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५र०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।












