राजविराज । विप्लवका नेताकार्यकर्ताले राजविराजमा बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमल गिरिको पुतला दहन गरेका छन ।


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) नेता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका शीर्ष नेताहरू विरुद्ध न्यायाधीश गिरीको इजलासले पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपा विप्लवका नेताकार्यकर्ताले न्यायाधीश गिरिको पुतला जलाएका हुन ।
पार्टीका नेताहरूमाथि जारी पक्राउ पुर्जी खारेज गर, नेपाल सरकार र पार्टी विच भएको तीन बुंदे सहमति कार्यान्वयन गर, लगायतका विभिन्न नारा लगाउदै सप्तरी जिल्ला अदालत अगाडि पुतला दहन गरिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्दा ब्युँताउँदै सोमबार नेकपा विप्लवका महासचिव विप्लव, नेता प्रकाण्ड, माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
तीन बुँदे सहमति विपरीत आदेश जारी भएको विरुद्धमा नेकपा विप्लवले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
कार्यक्रम अन्तर्गत २०८० मंसिर १९ गते देशव्यापी मसाल जूलूस प्रदर्शन, २० गते जिल्ला अदालत काठमाडौँका न्यायाधीशको पुत्लादहन गर्ने र २१ गते विरोध प्रदर्शन सहित कोणसभा आयोजना गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको जिल्ला सेक्रेटरी होक्कान सिले जानकारी दिए ।
आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार खडक नगरपालिका ५ स्थित खरचुहिया बजारमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।












