Logo

सप्तरीको खडक नगरपालिका मधेस प्रदेशकै दोश्रो बालविवाह मुक्त पालिका घोषणा 

                     
Logo १३ पुष २०८०, शुक्रबार १८:५७    

कञ्चनरूप ।  सप्तरीको खडक नगरपालिका मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त नगरपालिका घोषणा भएको छ ।

शुक्रबार एक समारोहकाबीच नगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको छ । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले बालविवाह मुक्त घोषणा गरे थिए ।

मन्त्री यादवले मधेश प्रदेश सरकारको १० वर्षको रणनीति नै बालविवाह मुक्तको अवधारणा रहेको बताए । आगामी ४ वर्ष भित्रमा प्रदेशका कुनै पनि व्यक्ति निरक्षर नरहने गरि सरकारले काम गरिरहेको बताए । सीमान्तकृत, गरीब, दलित सबै साक्षर हुने उनले बताए ।

शिक्षामा मधेश प्रदेश सबै प्रदेशभन्दा कमजोर रहेको उनले बताए । आगामी ४ वर्षभित्रमा प्रदेशका कुनै पनि व्यक्ति निरक्षर नरहने गरि सरकारले काम गरिरहेको बताए । अभिभावक र शिक्षकले आफ्नो दायित्व बुझेर काम गरे शिक्षा मजबुत हुने उनले बताए ।

उनले बालविवाह मुक्त घोषणा गरेकोमा नगरपालिकालाई धन्यवाद दिदै पालिकालाई साक्षर घोषणा गर्न पनि आग्रह गरे । ‘यसमा हामी पनि सहयोग गर्छौ’ उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले बालविवाह मुक्त भएपछि यसको कार्यान्वयनमा जोड दिए ।

सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले घोषणा गरेपछि अझ कठिनाइ हुने बताइन । हामी १ वर्ष नै घोषणा गर्दा निकै चुनौती खेपिरहेको बताउँदै उनले बालबालिकाले दिने बालविवाह सम्बन्धी सूचना गम्भीर तरिकाले बुझ्नुपर्ने बताइन ।

कतिपय अभिभावक जन्म मिति घटाउन आउने गरेको बताउँदै उनले जनप्रतिनिधि यसतर्फ चनाखो रहनुपर्ने बताइन् । ‘घोषणा गरेर मात्र हुँदैन यसमा निगरानी राखिरहनुपर्छ’ उनले भनिन् ।

नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेन बर्दिबासका प्रमुख धना भुसाल, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, खडक नपा १० का अध्यक्ष राजेन्द्र चौधरी, सबल नेपालका अध्यक्ष जुना गिरी, भसराज उमाविका प्रधानाध्यापक सूर्यनारायण साह, बाल क्लब सञ्जालकी मञ्जुला साह सगितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बालविवाह मुक्त घोषणामा सहयोग गरेको भन्दै सेभ द चिल्ड्रेन राजविराज र महोत्तरी, सबल नेपाल राजविराजलाई कदर पत्र प्रदान गरिएको थियो ।

सबल नेपाल राजविराज र सेभ द चिल्ड्रेनको सहयोग र सहकार्यमा बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७९ बमोजिम यो घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

मधेश प्रदेशमा पहिलो पटक सप्तरीकै सुरुङ्गा नगरपालिका गत वर्ष बालविवाह मुक्त घोषणा भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?