Logo

रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना गरिने

                     
Logo २२ पुष २०८०, आईतवार २१:१६    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका १२, रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको छ ।

विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नति प्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत क्याम्पस परिसरमा पुस्तकालय स्थापना गरिने भएको हो ।

नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा नेपालीहरूद्वारा सञ्चालित नेपाली पाठशालालाई भट्टराईले ‘ग्लोबल नेपाली पाठशाला’ मा रूपान्तरण गरेको क्याम्पसले जनाएको छ  । करिव ६ वर्ष उक्त पाठशालाको प्रिन्सिपलका रूपमा नेतृत्व गरेका विजयले टेक्ससका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।

सोही फाउण्डेसन मार्फत रूपनगरमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि उनको सहयोगमा झण्डै १३ लाख रुपैयाँमा पुस्तकालय स्थापना हुने क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले बताए ।

अध्ययन, अनुसन्धान समाज विकासको जग हो भन्ने मान्यता राख्नुहुने भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग गर्ने प्राध्यापक गजुरेलले जानकारी दिए । “रूपनगर सर्वोदय पुस्तकालय’ नाम रहने सो पुस्तकालय अपरान्ह ३ घण्टा सार्वजनिक उपयोगका लागि खोलिनेछ ” उनले भने ।

विद्वान बुवा पण्डित डिल्लिराम भट्टराई तथा आमा हरिप्रिया भट्टराईका छोरा, इन्जिनियर विजयको सहयोगमा स्थापना हुने सो पुस्तकालय सप्तरी जिल्लाकै एउटा नमूना ज्ञान केन्द्रका रूपमा रहने अपेक्षा कञ्चनरूप नगरपालिका तथा वरपरका बुद्धिजीवीहरूको छ । अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि स्रोतको अभाव रहेको सप्तरी जिल्लाको उत्तर पूर्वी यस भेगमा एउटा स्तरीय सार्वजनिक पुस्तकालय स्थापना हुनु आफैँमा महत्वपूर्ण विषय रहेको स्थानीहरू बताउँछन् ।

भौतिक पुस्तकका साथै केही हजार इ-पुस्तक समेत राखिने पुस्तकालय विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गतिलो स्रोत केन्द्र बन्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको विश्वास छ ।  ‘पत्रपत्रिका, कम्प्युटर, र इन्टरनेट समेतको सुविधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीको यो भेगकै लागि गौरव हुनेछ ‘ उनले भने ।

“प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्था समेत हुनेछ , उनले भने, तर सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउने छन् ।”

क्याम्पस सञ्चालक समिति सदस्य हेम प्रसाद अधिकारीका अनुसार पुस्तकालयका लागि फर्निचर बनाउने, पुस्तक सङ्कलन गर्ने लगायतका काम गैराखेको छ । नव वर्ष २०८१ को अवसरमा उद्घाटन गर्ने गरी काम भइराखेको अधिकारीले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?