कञ्चनरूप । पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार डम्बर राईलाई प्रदान गरिएको छ ।


नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा आयोजित ३०औं लोकेन्द्र स्मृति दिवसको अवसरमा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका हुन ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ निवासी राई प्रेस चौतारीका जिल्ला अध्यक्ष हुन भने डेढ दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व सह सचिव समेत हुन ।

यसैगरी सोही समारोहमा प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशकरसम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार अरुण कुमार यादवलाई सम्मानित गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ निवासी यादव सप्तरीलाई कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिमा आवद्द रहेर कार्यरत छन् । प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर सप्तरीका एक जना युवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिंदै आएको छ ।
महासंघ शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । पत्रकारहरूको समस्या समाधानमा आम सञ्चार प्राधिकरण प्रतिबद्ध रहेको बताउँदै उनले निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
अध्यक्ष यादवले केही पत्रकार आजभोलि युटुबरको नाममा पत्रकारहरूको नाम बदनाम गर्दै आएकोले सचेत हुन आग्रह गरेका छन । पत्रकारहरूको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै यादवले पत्रकारहरूले विश्वसनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य ललिता साह ,नेपाल पत्रकार महासङ्घका पूर्व सभापति एवम् लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक बैधनाथ झा, पूर्व सभापतिहरू मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह ,वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे ।
महासङ्घका सचिव राम नारायण विश्वासद्वारा सञ्चालित कार्यक्रममा स्वागत सहसचिव गोपाल गुप्ताले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जीवनी बारे चर्चा गरे । कार्यक्रममा प्रेस मञ्च सप्तरी जिल्लाका अध्यक्ष भुषण सिंह , प्रेस युनियन सप्तरी जिल्ला अध्यक्ष बिनय लाल कर्ण , प्रेस सेन्टर सप्तरी जिल्लाका अध्यक्ष दिनानाथ यादव लगायतका बिभिन्न सञ्चार माध्यमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।
को हुन् लोकेन्द्र कुमार बुढाथोकी ?
सल्यान जिल्लाको तत्कालीन कोटमौला गाविसका धनी बहादुर बुढाथोकीका माहिला छोराको रुपमा जन्म लिई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको २०५० सालमा हत्या भएको थियो । उनकै स्मृतिमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज साप्ताहिकका सहसम्पादक थिए ।
राजविराजस्थित समाज कल्याण केन्द्र (बाल कल्याण गृह) मा बसि एसएलसीको पढाई पूरा गरेका बुढाथोकीको मविव क्याम्पस राजविराजमा विएल दोश्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो ।












