कञ्चनरूप । राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।


सप्तरीको रूपनगर स्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा। राजेश अहिराजले एक लाख एक हजार रुपियाँ हस्तान्तरण गरेर राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष शुभारम्भ भएको छ ।
रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ ।

अक्षय कोषको आकार एक करोड रुपियाँ पुर्याउने तत्कालीन लक्ष्य राखिएको कुरा क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल बताए। अक्षय कोषलाई १० करोड रुपियाँको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्रछात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो भन्नु हुने प्राध्यापक गजुरेल गाउँमा उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य बताए ।
डा। राजेश अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज सङ्ग्रौलाले राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष मा ५१ हजार रुपियाँ थप गर्ने घोषणा तत्काल गर्नुभयो । अक्षय कोषमा रूपनगर निवासी राम प्रसाद खतिवडाले २१ हजार एक सय ११ रुपियाँ, प्रमीला खतिवडाले ११ हजार एक सय ११ रुपियाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रुपियाँ योगदान गरेका छन।
वशिष्ठ अतिथिको आशनबाट समारोहलाई सम्बोधन गर्दै डा। अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर यो क्याम्पस रोजेको बताए। मृत्यु पछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्छ, उनले भने ।
उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा।।रत्न बहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थीहरू प्रोत्साहित हुने आशा व्यक्त गरे । शिक्षा गुणस्तरीय नभए सम्म समाजले उन्नति गर्न सक्तैनन् भन्दै डा। बागचन्दले हामी सबैले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीहरूलाई आफूले र नगरपालिकाका तर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
शिक्षाको मन्दिरमा गुरुको स्थान उच्चतम् हुने हाम्रो सनातन परम्परा अनुशरण गर्दै कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पूर्व प्रधानाध्यापक शम्भु प्रसाद घिमिरेले शिक्षा प्रति सरकारको व्यवहारले हाम्रो शिक्षाको स्तर कमजोर भएकोमा खिन्नता व्यक्त गरे।
राष्ट्र निर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष गिरिराज सङ्ग्रौलाले शिक्षामा आफूले गरेको सानो योगदान सार्थक भएको बताए ।
अध्यक्ष संग्रौलाको सभापतित्व सम्पन्न कार्यक्रमको उद्घाटन तुलसीमा जल अर्पण गरी नवीन शैलीबाट गरिएको थियो ।












