भारतको विहार प्रदेशमा विधान सभाको चुनाव हुँदैछ । विहारमा पछिल्लो ३० वर्षदेखि मुख्यतः दुईवटा राजनीतिक दलहरू लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेडको शासन रहेको छ । दुवैले सर्वथा पृथक नारामा राज्य गरे । राजदले ‘सामाजिक न्याय’ र जेडियुले ‘समुन्नति’ को नारामा । राजदले सामाजिक न्यायको मुद्दालाई सर्वाधिक महत्व दियो, जनताले बृहत् फष्टाएको अपराध तथा आर्थिक अवनतिलाई सुरुका १५ वर्षसम्म ध्यानै दिएनन् । यसपछि जेडियुले सुशासन तथा जनताको विकासको नारालाई जोड दियो । तर, राज्यलाई शासनको निरन्तरतामा मात्र केन्द्रित ग¥यो, फलतः आर्थिक विकासको कुरा नारामा मात्र रहन गयो ।


जनता रनभुल्लमा रहे, सात दशक बित्यो । समग्रमा राजनीतिक स्वप्न, शोषणविरुद्धको प्रतिशोध, विकासका नारा तथा धर्मान्ध चेतनाको ध्रुवीकरणमा सात दशक बितेको छ । आज विहार प्रदेशको समुन्नतिको क्यानभासमा यस्तो तस्वीर देखिन्छजहाँ ३३.७४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । उद्योगले जम्मा १७ प्रतिशत अर्थतन्त्रलाई धानेको छ । भारतको २९ प्रदेशमा जिडिपीको हकमा विहारको स्थान ८औं छ । त्यहाँ ५२.४७ प्रतिशत जनसंख्या निरक्षर छन् । यो भारतकै उच्च दर हो । करिब ४० प्रतिशत छात्रछात्रा १२औं कक्षामा पुग्दा विद्यालय छोडद्छन्, १३.६ प्रतिशतले मात्र उच्च शिक्षामा भर्ना लिन्छन् ।
समग्रमा ३५.९ प्रतिशत बालबच्चा शिक्षाबाट वञ्चित छन् । त्यहाँ करिब ४२ प्रतिशत बालबच्चा कुपोषणका शिकार छन् । विहारमा १६.६ प्रतिशत वर्ष उमेर समूहका ३८.२ प्रतिशत बेरोजगार छन् भने ४०.५ प्रतिशत मजदुर काम बेगर बाँचेका छन् । यी तथ्यांकहरू विहारमा यसअधि चुनावका गम्भीर मुद्दा बनेका थिएनन् । सामाजिक न्यायको चर्को कुराले आर्थिक बदहालीको कुरालाई ओझेलमा राखेको थियो । तर अहिलेको चुनावमा यस्ता सवालहरूले विहारको ठूलो जनसंख्याको ध्यान खिचेको छ । जनताले प्रश्न गर्न थालेका छन् कि अब थप कति वर्षको समय दिने ? जनताको यो प्रश्नको उत्तर दिन सत्तारूढ गठबन्धनका लागि कठिन भएको छ।

नेपालका केही प्रदेशहरू भारतका प्रदेशहरूसँग जोडिएका छन् । तर सबभन्दा बढी तादाम्य प्रदेश २ को विहार प्रदेशसँग छ । यसर्थ, नेपालको प्रदेश २ ले विहारको चुनावमा उठेका सवालहरू तथा अपेक्षाहरूलाई गहन रूपमा बुझ्नु जरुरी छ । यो यस कारणले पनि बुझ्नु जरुरी छ कि, प्रदेश २ को सरकार तथा यसका सत्तारुढ दलले बितेको समयावधिमा बढी महत्व ‘अधिकारका सवालहरू’ र ‘सामाजिक न्याय’ का कुराहरूलाई दिइरहेको देखिन्छ ।
नेपालको प्रदेश २ का आठवटै जिल्लाहरू भारतको विहार प्रदेशसँग जोडिएका छन्, यहाँ पनि २७.७ प्रतिशत मानिस गरिबीको चपेटमा रहनु परेको छ । स्वतन्त्र विज्ञहरू यो ३५ प्रतिशत भन्दा पनि ठूलो रहेको भन्छन् । यो प्रदेश बहुआयामिक गरिबीको मापदण्डमा पूरै मुलुकमा उच्च छ । नेपालका ७७ जिल्लामध्ये प्रदेश २ का आठ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५ प्रतिशत छ । यस प्रदेशमा स्कुल जाने उमेरका मध्ये ५० प्रतिशत बालबच्चाहरू मात्र स्कुलमा भर्नासम्म लिएको छ । कुपोषणका सिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेशपछि प्रदेश २ आउँछ । प्रदेश २ मा १५–४९ उमेर समूहका महिलामध्ये ५८ प्रतिशत एनिमिया रोगबाट ग्रस्त छन् भने ३६.८ प्रतिशत नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन् ।
मुलुकका कुल ३५ हजार ५ सय २० वटा स्कुलहरूमध्ये प्रदेश २ मा स्कुलको संख्या ४ हजार १ सय ३७ रहेको छ । यस प्रदेशबाट २४.२० प्रतिशत युवाहरू श्रम बेच्न विदेशिएका छन् । आर्थिक विकास दर भने जम्मा २.३ प्रतिशत छ । यो प्रदेश युवा साक्षरता दरमा मुलुकमै सबभन्दा कम ६३ प्रतिशत छ, जबकि गण्डकी प्रदेशको सर्वाधिक ९५ प्रतिशत छ । मुलुकको कूल ४ लाख १ हजार २ सय ३६ उद्योगको तुलनामा प्रदेश २ मा उद्योग संख्या ५४ हजार ९ सय १० रहेको छ । यहाँको ५४ लाख ४ हजार १ सय ४५ जनसंख्यामा जम्मा १३ वटा अस्पताल रहेका छन् । हालको महामारी कोबिड१९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखिन्छ । स्वास्थ्य संरचना ध्वस्त छ । नेपालको सन्दर्भमा प्रदेश २ को स्थितिमात्र खराब छ भन्ने होइन । तर, प्रदेश २ तुलनात्मक रूपमा बढी खराब छ ।
विहारको निर्वाचनमा ३१–५० उमेर समूहका मतदाताहरू ४४.१ प्रतिशत छन् । यसरी नै २६–३० उमेर समूहका मतदाताहरू १५.८ प्रतिशत छन् । दुवैलाई जोड्दा, अर्थात् २६–५० उमेर समूहका मतदाताको प्रतिशत ५६.९ हुन आउँछ । विहार राज्यको विधान सभा निर्वाचनको गहिरिएर मूल्यांकन गर्नेहरूले त्यहाँको सत्तारूढ गठबन्धनलाई सबभन्दा ठूलो चुनौती यही उमेर समूहका मतदाताबाट हुनसक्ने आकलन छ । यस उमेर समूहले यस पटक नयाँ अपेक्षाहरू प्रकट गरिरहेको देखिन्छ । सामाजिक न्यायको मुद्दा, दलित सशक्तीकरणको सवाल, हिन्दू धर्मान्धता, राम मन्दिरको निर्माण र अल्पसंख्यक अधिकारको कुरा ओझेलमा परेको त भन्नु हुन्न तर प्राथमिक सवालको रूपमा रहेको छैन ।
विहार राज्यका झैँ नेपालका प्रदेश २ को पनि जनसांख्यिक स्थिति समान नै रहेको छ। जनताका प्रश्नहरूको निर्माण उमेर समूहहरूको प्राथमिकता तथा समान आकांक्षाहरूले निर्धारण गर्दछन् । यहाँ प्रदेश २ अवश्य पनि विहारबाट बढी प्रभावित रहेको छ । यसर्थ, यहाँका राजनीतिक दलहरूले भोलिका दिनहरूमा सामना गर्नुपर्ने सवालहरूको आकलन पनि विहारको राजनीतिक परिदृश्यबाट बुझ्नु उपयुक्त नै हुनेछ । हिटा बाट सभार












