जनकपुर


कार्तिक १८ गते २०७७ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई महिला गम्भीर घाइते भएकी छन् । तिहारको तयारी गर्न खोलाबाट लिपपोतका लागि माटो ल्याउन गएकी महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ राम्रो चोककी ३५ वर्षीया सुनिता देवी रविदासको मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।
यस्तै ढिस्कोमा परी १४ वर्षीया मधुकुमारी ठाकुर र २७ वर्षीया रिनादेवी ठाकुर गम्भीर घाइते भएकी छन् । घाइते दुबैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
मंगलबार बिहान ७ बजे दिपावलीको लागि घर लिपपोत गर्न स्थानीय राजी यादवको खेतमा माटो लिन गएको बेला ढिस्को खसेको थियो । ढिस्कोमा च्यापिएर सुनिता देवीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । दुईजनाको भने स्थानीयले तुरन्तै उद्धार गरेका थिए ।
मृतक सुनिताको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।












