परिचित महोदय,


सप्रेम सम्झना !
आज म परिचित बीच अपरिचित बनेको छु । आफ्नो र विरानो छुट्याउन गम खाँदै छु । भागबण्डामा म कता परेँ ! आखिरमा म कता मिल्न गएँ ! आफैँले जान्न सकेको छैन । विल्कुलै कसैलाई भन्न सकेको छैन ।

साँच्चै भन्नै नसक्ने अवस्थामा पुगेको छु । एक्कासी म अपरिचित बनेको छु । खबरदार ! तल्तिर परेको छैन । मास्तिर पनि सरेको छैन । भागबण्डामा मिल्न जाने गरेको पनि हैन । म सिङ्गो थिएँ । सिङ्गै रहन रुचाउँछु । टुक्रिन बन्दै चाहन्नँ । कसैले मलाई आफ्नो अनुकूल विभाजन गरेको मन पराउँदै पराउन्न । मैले मन पराउँदैमा हुने र मन नपराउँदैमा नहुने कुरो पनि हैन । लुकाएर राखिहाल्ने त्यस्तो गोप्य कुरो मसँग छँदा पनि छैन ।
महोदय ! म स्पष्ट कुरा बताउँदै छु । आफ्नो इतिवृत्ति ओछ्याउँदै छु । मैले केही बोल्नु पर्दैनथ्यो । मेरो कलमले धेरै ठाउँ बोलिसकेको छ । तर आज यहाँ नबोली भएन । तानातान र फालाफालको तमासा हेरिरहेको छु । म घरि यता जान, घरि उता पुग्न उदाएको थिइन । फुटको महाजालमा बेरिन अस्त भएको थिइन । मेरो आफ्नो स्थान थियो; छ र भइरहने छ । कसैले द्विविधामा नपरे हुन्छ । मलाई भागबण्डामा सामेल नगरे हुन्छ ।
मेरो कलमले भण्डाफोर अभियान चलायो । मेरो क्यामेराले चोखो स्थिति कैद ग¥यो । मेरो ‘जनादेश’ले जनताको बोली टिप्यो । मेरो ‘जनदिशा’ले समयलाई पक्रियो । मेरो ‘कलम’ले वर्तमान टेकेर भविष्य लेख्यो । उत्तर फर्केर दक्षिण टेक्यो । पूर्व हिँडेर पश्चिम भेट्यो । म चिनिएको पनि त्यसैले होला । मलाई समयको उपज मानिएको पनि त्यसैले होला । र, गन्तव्यमा नपुगी
नेपालभित्रै छिमेकी स्वामित्वकोे भूमि यत्रतत्र छ । छिमेकमा पनि नेपालीहरूको रगत र पसिना औधी बगेको र सुकेको छ । गुलिया लाग्ने सन्धिसम्झौता जेजस्ता भए पनि ती सबै कागजमा सीमित छन् । लाभ अर्कैलाई छ । घाटा भने नेपाली टाउको माथि छ । दशगजा मरणासन्न भएर लम्पसार पर्दा नेपाली आकाशमा समस्याको पहाड खडा हुन्छ ।
समयसमयमा सुनिने सिंह गर्जनले दशगजाको सातो जान्छ । भन्नुपर्ने कुराका लागि अहिलेलाई यही सङ्केत काफी छ । मैले देहरादुनको सूर्य वि.सं. २०१३ मा पहिलो पटक आँखाले देखेँ । सुझबुझलाई लिपिबद्ध गर्न खोज्दा शोक र सुर्ताको राजमार्ग बन्यो । त्यसलाई ‘शोकाञ्जली’ भनी न्वारान गराएँ । त्यस छोरालाई स्याहार्दाको अनुभूति बेग्लै थियो ।
अर्को पुत्ररत्न ‘इतिहासको यस घडीमा’ अविष्कार गर्दा मुलुकका कुनाकुना चहारेँ । अझ ‘बन्दी र चन्द्रागिरी’ नाम गरेकी चेली सार्वजनिक गर्दा अनुभूतिलाई गहिरो विचारले मस्काएँ र भविष्यको बोली समेत त्यसमा मिसाएँ ।
सफल कवि, समीक्षक, भूमिका लेखक, गद्य लेखक, संस्मरण लेखक र पत्रसाहित्य–लेखकका रूपमा परिचित हुन दौडधुप गरिरहेकै बखत निर्दयी नीलो ब्वाँसोले झम्टियो । त्यसकै शिकार भएँ । पटक पटक गरी कैयौं पटक ममाथि पशुवत् व्यवहार गरियोे । त्यो कहिरन मबाहेक उसैलाई थाहा हुनुपर्छ जसले मेरो हुर्मत लिने काम ग¥यो ।
२०५९ साल जेठ १३ गते मलाई इतिहासका पानामा सीमित राख्ने प्रयास गरियो । मुलुक र मुलुकबासीको समृद्धिको राजमार्ग बनाउन कलम पक्रेर हिँडेको हुँ भन्दाभन्दै गद्दारभाटहरूले पत्थर–हृदय बनाए । तर, म अझै जागेकै छु । म यतैउतै घुमफिर गरिरहेकै छु । साँचो कुरा गर्ने हो भने म कविताका प्रत्येक हरफहरूमा श्वास फेर्दै छु । सीमान्तकृत जनताको आवाज भएर धन्किँदै छु । र, अहिले खबरदारीका लागि तपाईंसँग रन्किँदै छु ।
वर्गसङ्घर्षमा दृढता र आनन्दानुभूति गर्ने बानी बसालेँ । अन्तरसङ्घर्षमा हमेसा क्रान्तिकारी धारको पृष्ठपोषण गरेँ । परिस्थितिबस विचलनको शिकार हुनु पर्दा धैर्यतापूर्वक कार्य फत्ते गर्ने गुणहरू आफूमा विकसित गरेँ । निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने जमर्को गरिरहेँ ।
रागात्मक, लयबद्ध र विम्बमय भाषामा विचार र अनुभूतिको संश्लेषणमार्फत जीवनको पुनःसृजनलाई कविता बनाएँ । अन्तर्वस्तु र रूपको एकत्वको मान्यतालाई कवितामा राम्रोसँग संवरण गरेँ । कविताका मूल तत्त्वहरू– भाषा, लयविधान, भावविधान, विचारपक्ष, बिम्ब, प्रतीक तथा अलङ्कार–योजना र शिल्प–चेतनालाई आफ्ना रचनामा विन्यास गर्दै रहेँ ।
संवेदनात्मक उर्जा, अनुभूतिको उद्वेलन र भावनात्मक उच्छलनको प्रचुरतासँगै विचारको गहिराइ र वर्गचेतनाको तीक्ष्णतालाई समेत मैले लेखनीको आधार बनाउँदै गएँ । सधैँ उदात्त भावगत अन्तर्वस्तुको अभिव्यक्ति कलम र वाणीमार्फत व्यक्त गरी नै रहेँ ।
मलाई छोएका विषयवस्तुलाई मैले नजिकैबाट अनुभूत गरेको छु । त्यसमा स्थानीय रङ, भूगोल र प्रकृतिलाई विचारसित घोलेर मानवीकरण गर्ने गरेको छु । नवीन विम्ब र प्रतीकमार्पmत् नवीन ऊर्जाशील आदर्शको उद्बोधन गर्ने प्रण गरेको छु ।
म जनता बीचबाट उठेँ र जनता बीचबाटै कलमी पराक्रम देखाउन थालेँ । मैले मनका सरल, सहज, हृदयस्पर्शी र कोमल भावनाहरूलाई गीतझैँ लयात्मक पाराले व्यक्त गरेँ । इस्पातिलो विचार राखेर प्र्रियजनका लागि आँखाको नानी भएँ भने बैरीका लागि छातीभित्रसम्म भेदन गर्ने छुरी बनेँ ।
समयका सशक्त लयात्मक दस्तावेजका रूपमा आफ्ना कवितालाई विकास गरेकै हुँ । क्रान्तिका गायक कवि बन्ने उद्देश्य स्वरूप वर्गचेतना, वर्गप्रेम, वर्गघृणा र वर्गमुक्तिको शाश्वत अभिव्यक्ति दिन कटिबद्ध रहेकै हुँ ।
परिचित महाशय ! तपाईं जे भन्नुस् । मैले अभिव्यक्तिको जोखिम मोलेकै हुँ । भन्न मन लागेको कुरा दिल खोलेर भनेकै हुँ । निरर्थक बाँच्नुभन्दा सार्थक मर्नु उचित सम्झेकै हुँ ।
मैले मृत्युलाई धेरै पहिले नै चिनेको थिएँ । सुझबुझका साथ मृत्यु स्वीकारेर बौद्धिक–क्रान्तिमा होमिएकै हुँ । म हरपल निडर रहेँ । जस्तोसुकै परिस्थितिमा पनि वैरीका सामु कहिल्यै झुकिनँ । मैले जनसमरको विजय र सुन्दर भविष्यको सपनालाई नजिकैबाट ठम्याएको थिएँ ।
कलमका पारखीले सपना देख्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर नेपालको साहित्यिक, सांस्कृतिक र पत्रकारिता जगत्मा हाम फालेँ । आफ्नो विचार र व्यवहारको सम्यक मिलन खोज्नमा मैले धेरै समय विताएँ ।
हुन त व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता र चिन्तनमा वस्तुनिष्ठताले ओतप्रोत अनुकरणीय व्यक्तित्वका रूपमा मलाई पनि संसारले हेरोस् भन्ने ठान्थेँ । अझ कसैले प्रतिभावान् कवि, क्षमतावान् पत्रकार, निष्ठावान् राजनैतिक विचारक, प्यारो मित्र, आदरणीय अभिभावक भनिदेओस् भन्ठान्थेँ ।
हत्तपत्त जो कोहीले छिचोल्न नसक्ने निष्ठाको शक्तिशाली पर्वत बन्न चाहन्थेँ । वास्तवमा हामी राम्रो बाटो हिँड्नेहरूको सक्कली पथगामी हुन खोज्छौँ । त्यसका लागि त सर्वप्रथम उनीहरूले उमारेका बेर्नाहरूको सुसारे हुन सक्नुपर्छ । आफ्ना विचार, शब्द र कर्ममा सम्यक मिलान गर्न सकेमा मात्र हामी केही गर्न र हुन सक्दछौँ ।
परिचित महोदय ! श्वास फेर्नु ठूलो कुरो होइन । नफेर्नु झन् ठूलो होइन । फेरेर पनि नफेरेझैं हुनु र देखिनु चाहिँ बडो दुःखद र लाजमर्दो हो । हेर्नुस्, उज्यालोको खेती गर्छु भनेर हलो र जुवा बनाएँ । रातो दिन मरिहत्ते गरेँ ।
मेरो पारिवारिक कुरो विचित्रको छ । तक्माको रथको अर्को पाङ्ग्रो हुन समय फिटिक्कै दिइनँ । प्यारी समीक्षाका चाहनाहरू थामथामथुमथुम पारी नै रहेँ । मलाई जीवनसँग जुध्न बामे सरिरहेकाहरू र टुकुटुकु हिँडिरहेकाहरूको फिक्री थियो । आफैंले सिर्जनाको जग बलियो पार्नु थियो । पुरातनवादी भूत–सवार हटाउनु थियो ।
परिवर्तनको गाथा रच्न सबैले आँट गर्नुपर्छ । जसले मह काढ्छ, उसैले हात पनि चाट्छ । म सबैको मन सगरमाथा बनोस् भन्ठान्थेँ । हरेकको माटोको भविष्यमा ध्यान जाओस् भन्न चाहन्थेँ । खुसी रहँन र राख्न चाहन्थेँ । म दुःखलाई सुखसँग साट्न चाहन्थेँ ।
गौरवशाली इतिहासको गौरवनायक हुन रुचाउँथेँ । कलमी अस्त्रले रूढिवादका पर्खाल तोड्न, अन्धविश्वासका तगारा पन्छाउन, यथास्थितिवादी खोपिल्टा पुर्न अनि पश्चगमनका इरादाहरू चकनाचुर पार्न चाहन्थेँ । हर्दम चित्त त्यतै गयो । आफूलाई फर्केर हेर्ने समय भेटिनँ । जीवन अन्तै साटिन्छ नै भन्ने पनि हेक्का राखिनँ ।
क्रान्तिले परिवर्तन ल्याउँछ । साहित्यिक र सांस्कृतिक क्रान्तिजस्तो महान क्रान्ति अर्को कुनै छैन । समाज रूपान्तरणको दीर्घकालीन स्वाद लिन क्रान्तिसमरमा उत्रनै पर्छ । निर्भीकतापूर्वक क्रान्तिलहरलाई गति दिनैपर्छ । म त्यही रूपान्तरणको अभियानमा जुटेँ । हिमालका कविता लेखेँ । पहाडका लय सुसेलेँ । तराईका फाँटहरूलाई भाका दिएँ । सामाजिक चेतनाको विशिष्ट रूपलाई साहित्य ठानिदिएँ । अन्यायी शासकको कडा विरोधी बनिदिएँ ।
परिचित महोदय ! परिवर्तनको अभियन्ता बनेर उज्यालो सपनाको गीत गाउँदागाउँदै आरोप–प्रत्यारोपको शिकार भएँ । बम र बारुदभन्दा कलम नै शक्तिशाली अस्त्र ठान्दै गएँ । मेरा छेउमै कला–चेतनादेखि बेखबरहरूको एउटा झुण्ड नै थियो । परिवर्तन भन्ने वित्तिकै गोमन–साँप आएकै ठान्ने अर्को हुल थियो ।
मुर्दा शान्तिको रट लगाएर निरङ्कुशताको आनन्द लुट्ने पक्ष बलियो थियो । श्रमजीवीका झुपडीमाथि आलिशान दरबार बनाएर ढलिमली गर्नेहरूको कमी थिएन । ती सबै मृत्युदेखि त्रस्त थिए । ती कायरहरूको मन कुहिएको थियो । प्रेम–सद्भाव हराएको थियो । मात्र तिनीहरू अरूलाई घृणा र आफूलाई सुख जुटाइरहेका थिए ।
जीवन्त शान्ति र दीर्घकालीन परिवर्तन मेरो कविताको स्वर थियो । लय थियो । ध्येय थियो । मैले आइपर्ने सम्भावित खतरालाई स्वीकारेको थिएँ । त्यसैमा रूपान्तरणको बीउ उम्रने ठानेको थिएँ ।
अग्रगतिको पृष्ठपोषण गर्ने सांस्कृतिकर्मीहरूलाई आततायीहरूले एकै गाँस बनाएको नजिकैबाट देखेको थिएँ । वर्गप्रेम र वर्गीय विचारले म राम्ररी जेलिएको थिएँ । बधशालाका रूपमा देश रूपान्तरण नहोओस् भन्ने कुरामा हरसम्भव चनाखो थिएँ ।
मैले भनेर के गर्नु र ! हिंसावृक्ष त दिनप्रतिदिन बढेको बढ्यै थियो । आततायीहरूका छानाहरू ठडिएका ठडियै थिए । अनिश्चित भविष्यको राजमार्ग फैलिएको फैलियै थियो । हुनुपर्ने कुरा केही भएको थिएन । नहुनुपर्ने कुरा दिन दुई गुणा रात चार गुणाले बृद्धि हुँदो थियो ।
बौद्धिकताको नाममा भ्रमको खेती गर्न पल्केकाहरू जनताको नाममा पजेरो गुडाइरहेका थिए । मचाहिँ कवितालाई धारिलो हतियार बनाउन व्यस्त र व्यग्र थिएँ । कवितामा जीवनको रङ खोजिरहेको थिएँ । समाज रूपान्तरणको ओखतीका रूपमा कवितालाई विकसित पार्दो थिएँ । मैले कवितामा अनुभूतिको घोलन मात्र मिसाइनँ, त्यसमा सहासको जलप पनि लगाएँ । बलिदानीको गाथा समेत टासेँ ।
मलाई लाग्दछ– मेरो कविताले आततायीको मनमा ढ्याङ्ग्रो बजायो । त्यसको निद्रा हरण ग¥यो । त्यसको अमनचयन र सुख रछ्यानमा मिल्काई दियो । मैले निर्माण गरेको कविताशिविर तिनले भत्काउन सकेनन् । बरू मेरो भौतिक कायालाई भत्काउन चाहे । र, पो म नजिक भएर पनि टाढा भएको छु । परिचित भएर पनि अपरिचित नै बनेको छु ।
२०६९.०२.१३ पोखरेलटोल,
राजविराज, सप्तरी ।












