लहान


कार्तिक २७ गते २०७७ ।
सिरहामा नक्कली नोट र छाप्ने मेसिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ बाट तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नम्बर १२ का धिरज राय, सोही ठाउँका सञ्जयकुमार राय र कल्याणपुर नगरपालिका वडा नम्बर ७ का विमलेन्द्र नायक रहेका छन् ।
गोलबजार नगरपालिका वडा नम्बर ६ भोटनाथ चोकस्थित वीरेन्द्र महतोको घरबाट ६ लाख ८८ हजार नक्कली नोट, एक थान प्रिन्टर, एक थान ल्यापटप, एक थान मोटरसाइकलका समानसहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिनुभयो ।
विशेष सूचनाका आधारमा बिहीबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालको नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली पुगेर महतोको घर घेराउ गरी खानतलासी गर्दा ती सामानहरु बरामद भएको उहाँले बताउनुभयो । प्रहरीले नक्कली नोट छाप्ने ठूलो गिरोह हुनसक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि सिरहाबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।













