राजविराज, २८ कार्तिक ।


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुलाई सच्चा कम्युनिष्ट बताउने नेताहरुमा कम्युनिष्ट चरित्र समाप्त भईसकेको बताएका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले धेरै संघर्षका साथ उपलब्ध संघीयता र गणतन्त्र कम्युनिष्ट तथा रोयलिष्टहरु एकै धारमा उभिएर जनताको अधिकारलाई समाप्त पार्ने षडयन्त्रमा लागेको आरोप लगाहुन ।
उनले भने जनसंघर्ष र बलिदानबाट प्राप्त उपलब्धीको रुपमा रहेको संघीयता र गणतन्त्रलाई समाप्त पार्न कम्युनिष्ट र रोयलिष्ट लागी परेको बताए ।
देशमा संघीयता आए पनि अझैं अधिकार विहिन अवस्था रहेको बताउँदै उनले भने प्रदेश सरकारहरु अधिकारसम्पन्न नभएसम्म संघीयता कमजोर अवस्थामा रहनेछन्, त्यसैले अधिकारसम्पन्न बनाएर काम गर्ने वातावरण श्रृजना गर्नु आवश्यक छ ।’ चौतर्फी रुपमा भ्रष्टाचार र कमिशन तीब्र बढ्दै गईरहेकोले सुशासन कायम कायम नभएसम्म देश समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने समेत उनले बताए । गरिबी र बेरोजगारी समस्यालाई समाधान गर्न प्राथमिकताकासाथ अगाडि बढ्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।
कार्यक्रममा पार्टीका जनता समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री राजकिशोर यादव , केन्द्रिय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य मनिष कुमार सुमन लगायतले सम्बोधन गरेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षता तथा युवा नेता शम्भु कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारीसहितका नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । तिवारीलाई अध्यक्ष यादवले टिका तथा माला लगाएर स्वागत गर्दै आगामी दिन थप सशक्त भएर पार्टीमा लाग्न आग्रह गरेका छन् ।













