राजविराज, २८ कात्तिक ।


सप्तरीको विभिन्न स्थानमा भारतबाट अवैध रुपमा ल्याउदै करिब ३ लाख ३२ हजार ७ साय ५० रुपैयाँ बराबरको अवैध पटाका सप्तरी प्रहरीले आज नष्ट गरेको छ ।
सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय हाताभित्र खाल्डो खनी बरामद पटाकाहरु नष्ट गरेको छ ।

सुतली बम, चक्र, रकेट, बिजुली प्रेसर, फुलझारी चिरचिरी लगायतका पटाकाजन्य बस्तुहरु नष्ट गर्ने टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, प्रहरी उपरीक्षक राजेन्द्र धमला र प्रहरी नायव उपरीक्षक भुवनेश्वर साह सहितको टोली मिलेर नष्ट गरेका हुन ।
चाडपर्वमा सीमापारीबाट भित्रिने पटाका र त्यसबाट जनधनमा पुग्ने क्षति रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि ठूलो परिमाणमा प्रहरीले विभिन्न किसिमका पटाका बरामद गरी नष्ट गरेको जनाएको छ ।
सप्तरी प्रहरीका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर प्रसाद साहका अनुसार चेकजाँचका क्रममा भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका नाका क्षेत्रमा विभिन्न व्यक्तिबाट ठूलो परिमाणमा जफत गरिएका नागिन पटाका, आलु बम, सप्तरंगी पटाका, रकेट बम, चकलेट बम, मिनि बुलेट लगायतको पटका नष्ट गरिएको हो ।












