कञ्चनरुप


मंसिर ७ गते २०७७ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा धान खान गाउँ पसेको एउटा भाले हात्तीको आइतबार सप्तरीमा करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार राती कञ्चनरुप नगरपालिका वडा नं. ५ स्थित पडेमारामा धान खान आउँदा बिजुलीको ११ केभीको विद्युत् प्रसारण लाइनको पोलमा जिउ रगडिदा तारमाथि खसेर करेन्ट लागी हात्तीको मृत्यु भएको हो ।
कोशी टप्पु वन्य जन्तु आरक्षबाट ३÷४ वटाको सङ्ख्यामा आएको हात्तीको समूहले धान खाएर नष्ट पारेको र ती मध्ये अन्दाजी ७० वर्षको बहिरो हात्तीको बिजुलीको करेण्ट लागेर मृत्यु भएको गाउँलेहरु बताए । हात्ती मृत फेला परेको विषयमा अनुसन्धान गर्न आरक्षका सहायक वार्डेन सन्तोष भगत नेतृत्वको टोली घटनास्थल पुगेको छ । नजिकै रहेको उक्त क्षेत्रमा लामो समयदेखि आरक्षको हात्तीको बथान आवतजावत गर्ने गर्छन् ।
चितवनबाट पशु चिकित्सक आएर मृत हात्तीको पोस्टमार्टम गर्ने सव डिभिजन वन कार्यालय मलेठका जमदार जितेन्द्र गुप्ताले बताउनु भयो । उक्त हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको गुप्ताले जानकारी दिनु भयो ।
घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुग्नुभएको छ । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताउनुभयो ।













