Logo

दुई नेकपामा कुन बैधानिक ओली पक्ष की प्रचण्ड पक्ष

                     
Logo ७ पुष २०७७, मंगलवार १९:४४    

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षको केन्द्रीय कमिटीको बैठक सकिएका छन् । दुवै आफु आधिकारिक भएको दाबी गरेसँगै अब नेकपाको आधिकारिकताको विषय निर्वाचन आयोगमा जाने निश्चित भएको छ । आज बसेको बैठकमा ओली पक्षले केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सदस्यीय बनाएको छ भने प्रवक्तालाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

त्यस्तै प्रचण्ड(नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएको छ भने माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको छ । योसँगै अब दुई नेकपा सक्रिय भएका छन् । कानुनी रुपमा आयोगले कुनै एकलाई वैधानिकता नदिएसम्म अब ओली पक्ष र प्रचण्ड(नेपाल पक्ष नेकपा सक्रिय हुने देखिएको हो ।

ओली पक्षले के के निर्णय गर्यो ?

अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको बैठकले मौजूदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय आयोजक कमिटी विस्तार गरेको छ । अध्यक्ष ओलीले मौजूदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गरेको बैठकले २०७८ मङ्सिर २ देखि ७ सम्म पार्टीको महाधिवेशन तोकेको छ । यस अघि गत माघमा नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने निर्णय भएको थियो ।

साथै बैठकले केन्द्रीय कमिटीको अर्को बैठक यही पुस ९ गते बस्ने समेत तय गरेको छ ।

त्यस्तै यस बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर उनको ठाउमा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । यस बैठकले गरेको केन्द्रीय कमिटी विस्तारको सूचना निर्वाचन आयोगलाई पनि दिइएको छ ।

प्रचण्ड(नेपाल पक्षले के के निर्णय गर्यो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । झलनाथ खनालको प्रस्तावमा केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा पारित गरेको हो ।

त्यस्तै यस अघि बैठकले केपी ओलीलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । ओलीले संबिधान विरोधी, पार्टी एकता विरोधी काम गरेको, पार्टीको निर्णय नमानेको बह्न्दै उनलाई पदबाट हटाउने प्रस्ताव स्थायी कमिटी सदस्य भीम रावलले गरेका थिए ।

बैठक पछि प्रवक्ता नारायणकाजीले निर्णय बारे जानकारी दिदै भने, ’केपी ओलीले पार्टी एकता विरुद्ध काम गरेकाले उहाँलाई पार्टीको अन्तिरिम विधान अनुसार अनुसानको कारवाही गरी जिम्मेवारी मुक्त गरिएको छ । रिक्त अध्यक्ष पदमा माधव नेपाललाई सर्वसम्मत चयन गर्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले संसद विघटन असंवैधानिक कदम भएको भन्दै त्यसलाई अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । बैठकले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नभएको भन्दै संसदको अधिवेशन आह्वान गर्ने पनि निर्णय गरेको छ । बैठकले ओलीले गरेको कदमका विरुद्ध संघर्ष गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक समस्या र त्यसको समाधानका बारेमा छलफल र निष्कर्षका लागि प्रस्तुत भएका प्रस्ताव अध्ययनका लागि केन्द्रिय सदस्यलाई वितरण गरेको जानकारी गराएका छन् । यसबारेमा पुष ९ गते सुरु हुने बैठकमा छलफल हुने उनले बताए ।

प्रचण्ड(ओली पक्षको केन्द्रीय कमिटीको अर्को बैठक पुष ९ गते साढे १ बजे कार्की पार्टी प्यालेसमै बस्ने तय भएको छ । खरीबोट


लोकप्रिय छुटाउनुभयो कि ?