Logo

अभिभावकको पत्र शिक्षकलाई – शैक्षिक लेख

                     
Logo १४ पुष २०७७, मंगलवार १६:२८    

श्री शिक्षकज्यू,

त्यहाँ मेरी छोरी गरिमा पनि पढ्छे । ऊ नियमित स्कूल जान्छे । कक्षाकार्य बनाउँछे । गृहकार्य ल्याउँछे । फेरि त्यसै गर्छे जसो स्कूलमा गर्छे । शिक्षकले गर्न लगाएअनुसार खुरुखुरु गर्छे । ऊ सानै छे । उसको दिमाख एक प्रकारले खाली छ । ऊ जे सुन्छे, जे देख्छे, जे भोग्छे, त्यो दुरुस्त टिप्छे । एकएक विवरण सुरक्षित राख्छे । मौकामा प्रयोगमा ल्याउँछे ।

आज म चिन्तामा छु । छोरी मजस्तै बन्ली कि भन्ने त्रासमा छु । मैलेझैँ उसले पनि वर्तमान नभोगीकनै विताउनु पर्ला कि भन्ने भयमा फँसेको छु । त्यसैले त चिठी लेख्दै छु ।

महोदय, समाज जे भन्छ, त्यही मात्र मेरी छोरीले पढ्नुछैन । समाज त भन्छ– ‘पाठ्यक्रम दिएको छु; पाठ्यपुस्तक थम्याएको छु; शिक्षकलाई तालिम दिएको छु; शिक्षक त्यसै अनुरूप पढाउँदै छन्; पढाउने पनि छन् ।’

के तोकिएको शिक्षाले, तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ र ? उचालेको कुकुरले मृग मार्न सक्छ र ? सीमित ज्ञानले जीवनको अथाह गहिराइ पत्ता लगाउन सक्छ र ? असम्भव !

भो, मेरी छोरीलाई अतीत नघोकाउनुस् । मेरी छोरीलाई वर्तमान पढाउनुस् । हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । ‘हिजो’ पढ्न थाल्दा मैले ‘आज’लाई नै भुलेँ र मेरो ‘भोलि’ अन्धकार हुनेभयो । ‘आज’लाई पढ्न पाएको भए म ‘भोलि’ आफैँ बनाउँथेँ । ‘हिजो’मा भुल्दा दुबै युग मेरा भताभुङ्ग र लथालिङ्ग भए ।

त्यसैले मेरी छोरीलाई वर्तमान पढाउनुस् । भविष्यको त्यसलाई चिन्ता हुने छैन । वर्तमान पढेका मान्छेले अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । जसरी म ठगिएको छु, त्यसरी उसले ठगिन नपरोस् भन्ने कुरामा म चनाखो छु । उसलाई अन्धोश्रद्धाको भारी नबोकाउनुस् । मानसिक दरिद्रताका पाठहरू नघोकाउनुस् । अतीतलाई व्युँझाएर वर्तमान नरकतुल्य नपार्दिनुस् ।

महोदय, मेरी छोरीलाई जथाभावी श्रद्धा गर्न नसिकाउनुस् । मेरी छोरीलाई जसलाई पायो त्यसलाई सम्मान गर्न नलगाउनुस् । मेरी छोरीमाथि अनर्गल कुरा नथोपर्नुस् । मैले श्रद्धा गर्न सिकेँ । सम्मान गर्न सिकेँ । ममाथि कुरा थोपरिए ।

म अहिलेसम्म थिचिइरहेको छु; निस्सासिरहेको छु । न म श्रद्धेय बनेँ न सम्माननीय नै हुन सकेँ । म फगत अरूको इसारा र निर्देशनमा लुरूलुरू हिँड्ने र काम गर्ने रिमोर्टबाट सञ्चालित एक मेसिनझैं बनेँ । मैले मजस्तो छोरीलाई बनाउनु छैन । मैले पनि छोरीजस्तो हुनुछैन ।

सक्नुहुन्छ भने मेरी छोरीलाई श्रद्धा गर्नुस्; सम्मान गर्नुस् । उसलाई विवेक प्रयोग गर्न दिनुस् । उसमा विचार पैदा हुन दिनुस् । विद्रोह गर्छे भने विद्रोह गर्न दिनुस् । विद्रोह दवाउन दवाबको प्रयोग गर्ने हिम्मत नगर्नुस् । विद्रोहमा नवीन चिन्तन छ कि छैन ? विद्रोह ऊर्जाशील छ कि छैन ? मात्र त्यसको निरीक्षण गर्नुस् । विद्रोहका कारक तत्त्व पत्ता लगाउनुस् ।

रिठ्ठो नविराईकन दूधको दूध पानीको पानी पारी छुट्याउनुस् । समाधानका लागि समस्या छ भने पारदर्शी ढङ्गले ओछ्याइदिनुस् । ऊ आफैँ समाधान खोज्छे । हैन, समस्या छैन भने पारदर्शी ढङ्गले नै समाधान गर्नुस् ।

मेरी छोरीले प्रतिस्पर्धामा कसैलाई उछिन्नुपरेको छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा विल्कुलै नदिनुस् । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मेरो मनमा वितृष्णा छ । प्रतिस्पर्धामा लागेर मैले आफूलाई हराएको र आफूलाई अलोकप्रिय बनाएको तीतो अनुभव आज पनि मसँग नै छ ।

मेरी छोरीले कक्षाका पैँतीस जनामध्ये प्रथम भई बाँकी चौँतीस जनालाई पछि बनाएर खुशी हुनुपरेको छैन । चाँैतीस जनाको मन कुल्चेर खुशी हुने शिक्षा चाहिएको छैन । मलाई प्रथम हुन आमाबुवा हर्दम करकर गर्नुहुन्थ्यो । सहज ढङ्गले मैले त्यो स्थान हाँसिल गर्न सकिनँ । बाङ्गोटिङ्गो बाटो अपनाएरै भए पनि त्यो स्थान हासिल गर्न पाए त कस्तो हुन्थ्यो ? आमाबुवाको ओठमा मुस्कुराहट ल्याउन सकिन्थ्यो; शिक्षकवर्गबाट प्रशंसा बटुल्न सकिन्थ्यो भन्ने लाग्थ्यो । मैले त्यही बाटो पक्रिएँ ।

फलस्वरूप मैले आफूलाई बेचेँ । आफू बेचिएरै भए पनि क्षणिक मुस्कुराहट त ल्याउन सकेँ । तर त्यो मुस्कुराहटको हत्या हुन धेरै काल पर्खनु परेन । मैले नै उहाँहरूको मुस्कुराहटको गला दबाएँ । फलस्वरूप उहाँहरू खिन्न हुनुभयो । कुपुत्रै जन्माएछौँ भनिरहनुभएको छ ।

मचाहिँ छोरीलाई कुपुत्री बनाउन चाहन्नँँ । म छोरीलाई सुपुत्री बनाउन चाहन्छु । मेरी छोरीले कसैको स्तुतिगान गर्नुपरेको छैन । मेरी छोरीले कसैको प्रशंसाको भजन गाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालालाई स्वीकार्ने पक्षमा मचाहिँ छैन । प्रेमलाई दबाएर, माया र सहानुभूतिको घाँटी निमोठेर प्राप्त गर्ने प्रमाणपत्रमा मेरो आपत्ति छ ।

प्रतिस्पर्धा गर्न सिकाउनुभयो; अरूजस्तै बन्न लगाउनुभयो भने मेरी छोरीले भन्न थाल्ने छे– ‘सबै म नै हुँ । हर कुरा नै म हुँ ।’ तर, म चाहन्छु– मेरी छोरीले भनोस्; हामी नै सबै हौ; सबै नै हामी हौँ । यसो भन्ने अवस्था दिलाउन उसलाई प्रेम दिनुपर्छ; चैतन्य औँल्याउनुपर्छ; बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनु पनि छैन । पछि पर्छे कि भनेर ठेल्नु पनि परेको छैन । उसको लयबद्धतालाई स्खलन गर्नुपरेको छैन ।

महोदय, समाज स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । त्यही समाजले तपाईंहरूलाई हतियार बनाएको छ । समाज आजका विद्यार्थीलाई ‘सबै बच्ने मन्त्र सिकाउनुस्’ भन्दैन; ‘आफैँ बच्न लगाउनुस्’ भन्छ ।

समाज जे भन्छ, तपाईंहरू अक्षरशः पालना गर्नुहुन्छ । शोषणको हतियार बनेर तपाईंहरू मेरी छोरीलाई शोषक बन्ने पाठ नसिकाउनुस् । बरू सक्नुहुन्छ भने हतियार बन्नबाट मुक्त हुनुस् । स्वार्थको भकारी भर्ने कामदार हुनबाट पाखै बस्नुस् ।

समाज जे भन्छ, त्यसका पछिपछि हिँड्ने अन्धो पथिक बन्दै नबन्नुस् । पहिले आफ्ना आँखा खोल्नुस् अनि मात्र अरूलाई आँखा खुल्ने रहस्य बताउनुस् । पहिले आफूले आफैँलाई चिन्नुस् अनि अरूलाई चिनेको आभाष दिलाउनुस् । आफ्नो विवेक र विचार बाड्नुस्; तर विवेक र विचार लाद्ने गल्ती बन्दै नगर्नुस् ।

र, अन्तमा भनिदिनुस्– ‘मैले बाँडेका विचारमाथि विचार गर । त्यस विचारले समेत नपुगे पुनर्विचार गर । फेरि, आफ्नो विवेकले त्यसलाई मस्काऊ । कुनै विचार काम लाग्ने देखिछ्यौ भने ती विचार मेरा होइनन्; आफ्नै विचार ठान । विवेकसम्मत कुराका पछि लाग । आफ्नो विवेकको मालिक आफैँ बन । कसैका विचारका पछि लाग्नुपरेको छैन । आफ्ना विचारलाई चट्टै त्याग्नु पनि परेको छैन । विचार जन्माउनमा तिमी पूरै स्वतन्त्र छ्यौ । विचार लागू गर्नमा तिमी पूरै अधिकार सम्पन्न छ्यौ ।’

महोदय, मेरी छोरीमा अहङ्कार जन्मनुहुन्न; प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनलाई तपाईं प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ ।

गन्दे नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत रहस्य र आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर गन्धे ठाउँ चहार्ने सुँगुर–सुगुर्नीहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ ।

अहङ्कार भिœयाउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने अशिक्षा नै मेरी छोरीले पाउनु वेस हुन्छ । मैले जुन शिक्षा पाएँ, त्यो खरो अनुशासनमा आधारित थियो । त्यो वस्तुनिष्ठ थियो । त्यो मेसिनरी शिक्षा थियो । त्यसै कारणले आज ममा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ ।

मभित्रको अहङ्कारले भनिरहेको छ– ‘म यत्ति धेरै पढेको मान्छे, अब हलो जोत्न सक्दिनँ । अब घाँस काट्न सक्दिनँ । अब पशुसेवा गरेर दुई पैसा आर्जनमा चित्त बुझाउन सक्दिनँ । सानोतिनो नोकरी गरेर जीवन चलाउन सक्दिनँ । अब मैले त ठूलो पदवाला नोकरी पाउनुपर्छ । पशुको नोकर हैन; जनताको पनि होइन; अब म सरकारको नोकर हुनुपर्छ । सरकारी नुनको सोझो गर्ने बन्नुपर्छ ।’

अहँ, महोदय ! मेरी छोरीले मसँग भएजस्तो अहङ्कार ग्रहण गर्नुहुन्न । उसले त हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने पनि हुनुपर्छ । समयअनुसार उसले कुलपति पनि बन्नुपर्छ र परिस्थितिले डोहो¥याएअनुसार ज्यामी–मजदुर हुन समेत रुचाउनुपर्छ ।

उसको आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ । उसको भोक र सुर्ता औँलो ठड्याएर वा अरूलाई कज्याएर तलव भत्ता पचाउनेमा हैन; जुनसुकै भए पनि काम पाउँदिनँ कि भन्नेमा हुनुपर्छ ।

महोदय, मेरी छोरीले अनुशासन सिक्नुछैन । त्यसले मान्छेको हत्या गरिरहेको छ । खुल्लमखुल्ला व्यापार गरिरहेको छ । अनुशासनको पुजारी बन्दा मैले जुन तीतो यथार्थ भोगेँ, त्यो उसलाई भोगाउनुछैन ।

मेरो यथार्थ थियो– मैले मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरेँ भने, अनुशासन भङ्ग होला कि ! सजायको कठगरामा उभिएर स्पष्टीकरणको लामो वयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि ! म यस्तै त्रासमा बाँचेँ । मैले मन खोलेर कुनै शिक्षकनजिक ओछ्याउन पाइनँ । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर रहनुप¥यो । नमीठो अनुभवको सिकार भइरहनु प¥यो । भय र त्रासले तर्सिरहनु प¥यो । उसले यस्तो नियति भोग्न नपरोस् । उसले मन खोल्ने मौका पाओस् । उसले ठीक–बेठीक भन्न पाओस् । उसले चेतना उघार्न पाओस् । उसले उज्यालो खोज्न र भोग्न पाओस् ।

मेरी छोरी मझैँ मेसिन हैन मान्छे बन्नुपर्छ । उसले दृष्टि र श्रवणयुक्त मनुष्य बन्न पाउनुपर्छ । उसले स्रष्टा र द्रष्टा दुबै हुन पाउनुपर्छ । ऊ घोकन्ते र अनुयायी हैन; विवेकी र चैतन्ययुक्त हुनुपर्छ । उसले जडबुद्धियुक्त हुनुछैन । ऊ आफ्नो जीवनप्रति सन्तुष्ट हुनुपर्छ । ऊ प्रेमले खारिएकी हुनुपर्छ । उसले जीवनको अपार आनन्द भोग गर्न पाउनुपर्छ । उसले भय र त्रास, उसले ईष्र्या र आडम्बर, उसले अन्धविश्वास र पाखण्डको भेउ छिचोल्नुपर्छ ।

ऊ जे जान्दछे, जे बुझ्दछे, त्यो उसको विवेक र विचारअनुरूप हुनुपर्दछ । ऊ अरूले खनेको पथमार्गी बन्दै बन्नुहुन्न । ऊसँग आफू हिँड्ने बाटो आफैँले खन्ने सामथ्र्य हुनुपर्छ । मजस्तो अरूले खनेको बाटोमा लुरुलुरु हिँड्ने आज्ञाकारी अनुचर मेरी छोरीले हुनुछैन ।

महोदय, उसको जिज्ञासु मन जिज्ञासामै सीमित रहनुहुन्न । एक प्रकारको जिज्ञासा शान्त भएपछि चुपचाप रहने हुनुहुन्न । ऊ बेक्कारी मन लिएर घर फर्कनहुन्न । त्यस्तो मन सैतानको घर हुन्छ । दिनदिनै उसको मन ज्ञानविवेकले भरिँदै जानुपर्छ ।

सिकेका कुरामध्ये चाहिए जति स्मरणमा भण्डारण गर्छे र नयाँ कुराका लागि ठाउँ खाली गर्न सक्छे । त्यो खाली पूर्ति गर्ने जिम्मा तपाईंको हो । कृपया, झुटो आश्वासन र असम्भव कुराले भर्दिने भुल कदापि नगर्नुहोला ।

म उसलाई नयाँ मान्छे बनाउन चाहन्छु । मेरो चाहनामा कुठाराघात नहोस् । उसले भुल्नुहुन्न; उसले चुक्नुहुन्न । ऊ हर्दम होससहितकी जोसिली बन्नुपर्छ । उसले होसलाई नै धर्म र बेहोसीलाई नै पाप ठान्नुपर्छ ।

समय आउँदा हँसिमजाकले संसार हँसाउन र परिस्थितिले डाक्दा धीरता र शालिनताले खारिएको दुबै व्यक्तित्व देखाउन सक्नुपर्छ । ऊ हाँसोमा रोदनको सतर्कता र रोदनमा आनन्दको उत्कट आभाष पहिल्याउने हुनुपर्छ । मेरी छोरीले महत्त्वाकाङ्क्षाको महल ठड्याउनुछैन । मेरी छोरीले निस्सारताको पाठ घोक्नुछैन । मेरी छोरीले जीवनबोधको अध्याय पढ्नुपर्छ । जीवनका पत्र, पत्र उल्टाउनुपर्छ ।

महोदय, पहिले विद्यार्थी नम्र थिए; शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो; सिकाइयो । अभीष्ट क्रोधको पकडमा फँस्यो । त्यसैले राजनीति स्वार्थीहरूको, अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती ठहरियो ।

आज अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको भएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु तपाईंको कर्तव्य भएको छ । विद्यार्थीले तपाईंबाट विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ ।

आजको शिक्षाले मेरी छोरीलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । त्यसैले त महोदय, अतीतबाट पाठ सिक्नुस् । तपाईंलाई अतीतले जन्मायो; मलाई अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ; त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ ।

महोदय, यस युगले गहन जिम्मेवारी हाम्रो काँधमा सुम्पेको छ । कताकता कठिन काम खटाएको अनुभव हुन्छ । सहज सम्भव नहुने काम फत्ते गर्नु नै ठूलो सफलता हो । गर्दै जाँदा, भोग्दै जाँदा, उदार दिल र निस्वार्थ सोचले कर्मपथमा डोहोरिँदै जाँदा असम्भव भन्ने कुरा केही छैन । पुरातनवादी सोचले जरा गाडेको यस समाजले सजिलै घुँडा टेक्दैन ।

विनाविद्रोह परिवर्तन सम्भव छैन । यस समाजको सोचविरुद्ध विद्रोह गर्नुस् । राम्रो अङ्कयुक्त प्रमाणपत्र प्राप्त गर्ने अन्तिम अभीष्टलाई धरासायी पार्नुस् । विवेकी र विचारवान् जनशक्ति जन्माउने अठोट लिनुभयो भने तपाईं सफल बन्नुहुन्छ । हरतरहले तपाईं सफल हुनु भनेको मेरी छोरी सफल हुनु हो ।

सफल मान्छेले नै सफलता दिलाउन सक्छ । असफल मान्छेले त केवल अराजकताको माला पहि¥याउन सक्छ । धेरै भए असफलताको पाठ घोकाएर, मन बोझिलो पार्दिन सक्छ । सफल मान्छेलाई सबै थरीको मार्गबोध हुन्छ । तपाईंको स्थिर भविष्य हुनु भनेको मेरी छोरीको समुन्नत भविष्यको आधारशिला खडा हुनु हो ।

अतः महोदय, तपाईंभित्र दीप बलेको छ वा छैन, हेर्नुस् । छ भने ठीक छ; दीप प्रज्वलन कार्यमा सरिक हुनुस् । हैन, छैन भने जानुस् पहिले आफूभित्रै दीप बाल्नुस् अनि मात्र मेरी छोरीजस्ता कहाँ पुग्नुस् ।

शिक्षक महोदय, आज मैले जे लिपिबद्ध गरेँ, त्यसलाई मनोयोगले पढ्ने र विचार गर्ने कृपा गर्नुभएकोमा आभारी छु । यस पत्रमा केही सत्यता लुकेको पाउनु भएमा त्यसलाई आफ्नै सत्यता ठान्नु नै श्रेयस्कर हुन्छ । बाँकी कुरा अर्को पत्रका निम्ति छाड्दै र नवीन चैतन्ययुक्त विद्रोही मार्गनिर्देशक बनी शैक्षिक चेतना सञ्चरण र प्रसारणको काममा सरिक भइरहनुस् भन्ने शुभेच्छा सहितको कामना गर्दै पत्रान्त गर्दछु । धन्यवाद !

nandalalacharya@gmail.com


लोकप्रिय छुटाउनुभयो कि ?