राजविराज, ८ माघ ।


प्रतिनिधिसभा निर्वाचनका तयारीका लागी जिल्ला निर्वाचन कार्यालय सप्तरीले आयोजना गरेकको कार्यक्रम नै अधिकांश राजनीतिक दलले बहिष्कार गरेका छन ।
प्रतिनिधिसभा विघटन पश्चात सरकारले आगामी बैशाख १७ र २७ गते तयारी गरि रहदा सप्तरीमा नेकपा (ओली समूह) का प्रतिनिधि वाहेक अन्य राजनीतिक दल कार्यक्रममा सहभागी भएन्न ।

जिल्ला निर्वाचन कार्यालयले राजविराज नगरपालिकाको सभाकक्षमा आयोजना गरेको मतदाता नामावली अध्यावधीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, नागरिक समाज, गैसस तथा जिल्लास्थित सबै सरकारी कार्यालयका प्रतिनिधिलाई कार्यक्रममा बोलाएको भएता पनि नेकपा (ओली समूह) का प्रतिनिधि अशोक यादव र तिरहुत गाउँपालिकाकी उपप्रमुख तिर्थमाया खंग खत्वे मात्र सहभागि थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, विभिन्न गैसस र कार्यालयका प्रतिनिधि भने सहभागि भए ।
जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, १६ गते त्रृटी सच्याउने निवेदन र १८ गते उजुरी परेको मतदाताको प्रमाण जाच गर्ने कार्यक्रम रहेको छ ।
सप्तरीमा २०७७ पुस ५ गते सम्ममा १८ वर्ष पुरा भई दर्ता रहेका १ लाख ८६ हजार ९ सय ४७ पुरुष, १ लाख ७० हजार ८ सय ३७ महिला तथा अन्य २१ गरि कुल ३ लाख ५७ हजार ८ सय ५ मतदाता रहेका छन् ।













