काठमाडौं ।


प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–माधव समूह माइतीघरमा धर्नामा बसेका हुन् । असंवैधानिक रूपमा संसद् विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप एक सातासम्म धर्नामा बस्ने नेकपा सो पक्षका नेतृ पम्फा भुसालले बताइन् ।
धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरू सहभागी छन् । संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकिर गर्दै आएको नेकपाले संसद् जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भुसालले बताइन् । उनले सर्वोच्चले संविधान अनुसार न्यायोचित निर्णय गर्ने र प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरिन् । त्यस्तै उनले निर्वाचन आयोगले आफ्नो कानुन र विवेक प्रयोग गर्न नसकेको बताएकी छन् ।
प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौँमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।












