काठमाडौं, २१ माघ ।


प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
आज (बुधबार) प्रतिनिघि सभा विघटनविरुद्ध संघर्ष समितिले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको नियुक्ति गरी पदाधिकारी खटाएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि (बिहीबार) देशव्यापी आमहड्तालको कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्ताल जस्तो कार्यक्रम गर्न बाध्य भयौं, त्यसका लागि हामी क्षमा चाहन्छौं’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन् । उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिएकी छिन् । उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिएकी छिन् । उनले परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने बताइन् ।
यस्तै संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन् । उनले सरकारको एकपछिको अर्को बलमिच्याई र असंवैधानिक कदमका विरुद्ध वाध्य भएर आमहड्तालको कार्यक्रम गर्नुपरेको बताएका छन् ।
बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह(संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।













