काठमाडौं, २४ माघ ।


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नै बैसाखमा चुनाव नभए देश संकटको भूमरीमा पर्ने बताएका छन् ।

निर्धारित समयमा चुनाव हुन नसकेमा देश संकटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।
काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा शनिबार बोल्दै मन्त्री श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन् ।
तोकिएको समयमा निर्वाचन गर्नुको विकल्प नभएको बताउँदै उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे । यस्तै प्रदेशसभा सदस्य डा. अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताएका छन् ।
यस्तै कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब रु २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिएका छन् । निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको हो ।












