काठमाडौं, ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान नै फाल्ने कोसिस गर्ने, संसद् फाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रतिनिधिसभा पुनर्स्थापनापछि झन ‘मैमत्ता’ बढेको बताएका छन् ।

संविधानविरुद्ध उभिएका ओलीको विकल्प खोज्न कांग्रेस अगाडि आउनु पर्ने बताउँदै नेता पौडेलले भने, ‘यो कांग्रेस मौन बस्ने बेला होइन, अहिले हामी निर्णायक छैनौं भनेर बस्ने हो कि निर्णायक बन्ने कोशिस गर्ने हो रु’ नेपाल ट्रेड युनियन कांग्रेसले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले संविधान मास्ने र लोकतन्त्र सिध्याउने प्रयास अहिले पनि भइरहेको बताए ।
प्रतिनिधिसभा विघटन गरेर ‘चुनाव चुनाव’ भनिएको भन्दै अहिले पनि त्यही नाममा संविधान असफल पार्ने प्रयास भएको बताएका छन् । ‘अहिले पनि हाम्रा साथीहरु चुनाव–चुनाव नै भन्दै हुनुहुन्छ । संसद् विघटन गर्ने कुनै अधिकार नै छैन’, पौडेलले भने, ‘मंसिरमा चुनाव भनिँदै छ । हामीले अहिले चुनाव हैन, यही संसद्लाई उपयोग गरेर यो व्यवस्था जोगाउने हो ।’
पौडेलले अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद् फाल्न नदिने भन्दै यो व्यवस्था जनताको लामो संघर्षबाट आएको बताए । ‘यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैन भन्ने कांग्रेसले प्रमाणित गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसले मुलुकलाई अधिनायकवाद र निरकुंशतातर्फ जान नदिन यही संसदीय प्रणाली र संविधानको बाटोबाट मुलुकलाई हिँडाउने कोशिस गर्नुपर्छ ।’
उनले संकटको बेलामा खरो उत्रने कोशिस गरे मात्रै जनताले भरोसा गर्ने भन्दै कांग्रेसलाई अहिलेको अलमल नसुहाउने बताए । पौडेलले कम्युनिष्टहरु दुई–तीनतिर भएका बेलामा यही संसद्बाट विकल्प दिनुपर्ने बताए । ‘संसदमा प्रहार गर्ने, यो संविधानलाई नै फाल्ने कोशिस गर्नेलाई पाखा लगाउने प्रयासमा कांग्रेस लाग्नुपर्छ कि पर्दैन रु’ पौडेलले आफ्नै नेतृत्वलाई प्रश्न गरे, ‘लोकतन्त्र बचाउने काममा कांग्रेस लाग्नुपर्ने हो कि होइन ।
पौडेलले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्ने भन्दै व्यवस्था रहे सत्ता पटक–पटक आउने दाबी गरे । ‘व्यवस्था बच्यो भने सत्ता पटक–पटक आउँछ । अहिले संसद् पुनर्स्थापना भएपछि व्यवस्था बचेको छ’, पौडेलले भने, ‘तर, यो व्यवस्थालाई विकृत बनाएर बदनाम गराउन लागेका छन् । हामीले जोगाउनु पर्छ ।’
उनले संविधान बचे मात्र मजदुर, किसान, महिला, दलित, जनजाति सबैका अधिकार बच्ने भन्दै संसद् जोगिएन भने फेरि व्यवस्थामाथि प्रश्न उठ्ने बताए । ‘यो व्यवस्थामाथि प्रहार भइरहँदा हाम्रा साथीहरु पनि जानेर हो वा नजानेर हो, मंसिरको चुनाव, फागुनको चुनावको ललिपमा फस्दै छौं’, पौडेलले भने, ‘कांग्रेसले संकटका बेलामा नेतृत्व दिन सक्नुपर्छ । गिरिजाबाबुले संकटका बेलामा मुलुकलाई नेतृत्व दिनुभयो । हरेक संकटको घडीमा कांग्रेसले नेतृत्व दिएको छ ।’
नयाँ पेज












