अम्विका दहाल


राजविराज ।
सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ९ वटा निजी विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका एक दर्जन निजी विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनको क्रममा उनीहरुले सरकारी निर्णय अवज्ञा गरेर विद्यालय सञ्चालन गरिरहेको पाइएको छ ।
ह्यापील्याण्ड सेकेन्ड्री स्कुलका व्यवस्थापक शैलेन्द्र कुमार झा , लक्ष्मी इंगलिस बोडिङ्ग स्कुलका संचालक राजेश कुमारल यादव , शिक्षकहरु बैद्यनाथ कुमार झा , बुलन्द साह , जानकारी सेकेन्ड्री स्कुलका शिक्षक हरि किसुन राय , लिडिल एन्जल बोडिङ्ग स्कुलका संचालक नरेन्द्र प्रसाद देब , पिसजोन स्कुलका संचालक उमाकान्त साह , सृजना सेकेन्ड्री स्कुलका शिक्षिका रिमा झा , लिटिल फलावरका सेकेन्ड्री स्कुलका संचालक डा . कमानन्द देब , ग्रीन ईगलिस बोडिङ्ग स्कुलका शिक्षक मनोज यादव , शिब इन्टरनेशन बोडिङ्ग स्कुलका संचालक नरेष प्रताप साहलाई प्रहरी नियन्त्रणम लिएको छ ।
‘कोरोना महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न शैक्षिक संस्था बन्द गर्न सरकारी निर्णय रहे पनि यहाँका निजी विद्यालयहरु सञ्चालन भइरहेको पाइएपछि केही प्रिन्सिपललाई नियन्त्रणमा लिएका छौं’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले भने–‘उहाँहरुमाथि हाल जिल्ला प्रहरी कार्यालयमा राखका छौं ।’
टोलीमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल लगायतको सहभागी थियो । नियन्त्रणमा लिइएकाहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रजिअ पोख्रेलले बताए ।
गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेको विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्रहरुमा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र सञ्चालन गर्न निर्णय गरेको छ /












