काठमाडौँ ।


१५ दिनदेखि उपचाररत नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका ४० वर्षीय सदस्य दिनेश दाहालको कोरोना संक्रमणबाट शनिबार बिहान उपचारको क्रममा निधन भएको छ ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहाल वैशाख १ गते संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका थिए । पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।












