काठमाडौं, २७ असार । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।


ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो ।
खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।












