साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ।


खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। नेपाली समाजमा ‘साउनमा खीर खाने’ भन्ने मान्यता छ । विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन्।

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ।
तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।
चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ । यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो ।












