विराटनगर, १८ साउन ।


मोरङको विराटनगरमा धनपालथान गाउँपालिका–४ मा आइतबार राति एक महिला मृत फेला परेकी छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घरबाट लगभग ५० मिटरको दूरीमा रोपाइँ गरिसकिएको खेतमा ३५ वर्षीया जानकीदेवी मुखियालाई मृत फेला पारिएको हो । परिवारकै सदस्यले पानी जमेको खेतमा शव देखेपछि राति ११ः४५ बजेतिर प्रहरीलाई खबर गरेको जानकारी उनले दिए ।
आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत आइरहेको अवस्थामा मृत फेला पारेपछि परिवारका सदस्य एवं छिमेकीले शव घरमा ल्याएर राखेर प्रहरीलाई घटनाको जानकारी दिएको श्रेष्ठले बताए । मृत्युको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण यकिन हुने डीएसपी श्रेष्ठले बताए । उनका अनुसार जानकीदेवीले पालेको हाँस हराएको र खोजी गर्ने क्रममा दुईरतीन दिनअघि छिमेकीसँग उनको विवाद भएको पाइएको छ ।
महिला मृत फेला परेपछि उनीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरु ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमती सती मुखियालाई नियन्त्रणमा लिएको हो ।












