Logo

प्रदेश २ मा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी ठुलो

                     
Logo २१ भाद्र २०७८, सोमबार १८:५७    

२१ भाद्र ,जनकपुरधाम ।

एमाले विभाजनपछि प्रदेश २ मा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी ठुलो देखिएको छ । प्रदेशसभामा एमालेका २१ सांसदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् भने थप एक सांसदले नयाँ दलको पक्षमा सनाखत गराउने प्रक्रिया जारी रहेको बताइएको छ ।

प्रदेश २ प्रदेशसभामा एमाले दोस्रो ठुलो दल थियो । प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल ५५ सांसदसहित पहिलो दल रहँदा एमाले २१ सांसदसहित दोस्रो ठुलो दल थियो । तर पार्टी विभाजनपछि एमाले प्रदेशसभामा पाँचौं दलका रुपमा सीमित भएको छ ।

प्रदेशसभामा अहिले जसपाका पक्षमा ३९ सांसद छन् । यस आधारमा प्रदेशसभामा अहिले पनि जसपा पहिलो दलकै रुपमा कायम छ । यस्तै नेपाली काँग्रेस १९ सांसदसहित प्रदेशसभामा दोस्रो ठुलो दल रहँदा जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी दल १६ सांसदसहित तेस्रो ठुलो दल बनेको छ । एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी १२ सांसदसहित चौथो ठुलो दल बनेको छ ।

यद्यपि दिल्लीमा उपचारका लागि रहेका प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले समेत नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न आवश्यक प्रक्रिया सुरु भइसकेका कारण यो पार्टीमा १३ सांसद पुग्ने बताइएको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ८ सांसद छन् भने एमाले पनि ८ सांसदमा सीमित हुने देखिन्छ । प्रदेशसभामा आकारको हिसाबले माओवादी केन्द्र र एमाले पाँचौं स्थानमा पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखतको प्रक्रियामा रहेका सांसद डिल्लीप्रसाद उप्रेतीको सनाखत प्रक्रिया पूरा नभएको अवस्थामा भने एमाले ९ सांसदका साथ पाँचौं शक्तिमै रहने देखिन्छ भने त्यो अवस्थामा माओवादी केन्द्र छैटौं शक्ति बन्ने छ । रातोपाटीको सहयोगमा तयार पारीएको समाचार


लोकप्रिय छुटाउनुभयो कि ?