Logo

एमालेको विधान सभामा पुष्पलाल, मदन र मनमोहनको तस्बिर विस्थापित, पानीको बोतलमा पनि ओली

                     
Logo १५ आश्विन २०७८, शुक्रबार १६:२३    

काठमाडौ ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा पुराना कम्युनिष्ट नेताहरुको तस्बिर राखिएको छैन ।

यसअघि एमालेले आफ्ना कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो । तर, यस प्रथम विधान महाधिवेशनबाट उनीहरुका तस्बिर विस्थापित गरिएको छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

पानीको बोतलमा पनि ओलीको फोटो

एमाले विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ । हाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको १ लिटरको पानीको बोतलमा सो तस्बिर राखिएको छ ।

प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए ।

किन बोलाइएन अरु राजनीतिक दललाई 

प्रायः सबैजसो राजनीतिक दलका महाधिवेशनको उद्घाटन सत्रमा अन्य राजनीतिक दलहरुलाई पनि निमन्त्रण गर्ने, आतिथ्यता गराउने र शुभकामना मन्तव्य राख्न दिने राजनीतिक संस्कार छ ।

दल–दलबीचको सम्बन्धका विस्तारका लागि पनि यो अभ्यास राम्रो मानिन्छ । तर, नेकपा एमालेको शुक्रबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा भने अन्य राजनीतिक दलका नेताहरु देखिएनन् ।

जबकि एमालेले यसअघिका महाधिवेशनमा अन्य राजनीतिक दलहरुलाई बोलाउने गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?